अभिनेता सरोज खनाल पछिल्लो समय अभिनयमा निकै व्यस्त छन् । फिल्म मात्र होइन, रंगमञ्चमा पनि उनी उत्तिकै सक्रिय देखिन्छन् । ५० को दशकमा लोकप्रिय अभिनेता खनालले डेढ दशक अमेरिकामा बिताए । चार वर्षअघि ‘मानव’ फिल्मबाट अभिनयमा ‘कमब्याक’ गरेका खनालले त्यसपछि ‘नाइँ नभन्नू ल ३’, ‘सुब्बासाब’, ‘प्रेमगीत’, ‘दर्पणछायाँ २’, ‘पञ्चायत’लगायत एक दर्जन फिल्ममा अभिनय गरिसकेका छन् । अहिलेसम्म चार दर्जनभन्दा बढी फिल्ममा अभिनय गरिसकेका खनाललाई नयाँ पत्रिकाका लक्ष्मण सुवेदीले आफूलाई विशेष लागेका १० फिल्म छान्न लगाए । खनालको छनोटमा परेका ती फिल्म यी हुन् :
विजय–पराजय
विजय–पराजय (०४५) मैले अभिनय गरेको ठूलो पर्दाको पहिलो फिल्म हो । त्यसअघि मैले नाटक, टेलिसिरियलहरूमा मात्र अभिनय गरेको थिएँ । ठूलो पर्दामा आफूलाई हेर्दा कस्तो होला भन्ने कुतुहलता त्यो फिल्मले जगाएको थियो । भुवन केसी, कृष्ण मल्ल, तुलसी घिमिरेजस्ता दिग्गज हस्तीका साथ अभिनय गर्नुपर्दा सुरुमा मलाई सक्दिन“ कि भन्ने डर लागेको थियो । राजेन्द्र शलभ निर्देशित फिल्ममा म श्याम नामक चरित्रमा थिएँ । रूपा राना र मेरो बेडसिनले त्यतिवेला निकै चर्चा पाएको थियो । नचिनिने भेषमा हलमा पुगेर मैले थुप्रैपटक विजय–पराजय हेरेको छु ।
चोट
मैले अभिनय गरेको दोस्रो फिल्म हो, ‘चोट’ । यो फिल्म मलाई किन पनि विशेष लाग्छ भने, त्यसअघि मैले कहिल्यै पनि गीत गाउने, नाच्ने मौका पाएको थिइन । चोटमा भने मैले हिरोइनका साथ नाच्न, गाउन पाएँ । म नाचेको दर्शकले कस्तो मान्लान् भन्ने कुतुहलता मेरो मनमा थियो । रिलिजपछि सबै ठाउँबाट मैले तारिफ पाएँ । एक किसिमको नौलो अनुभूति चोटले गरायो ।
मनकामना
व्यावसायिक रेकर्ड राखेको फिल्म हो, ‘मनकामना’ । त्यसअघिका फिल्ममा म अलि सिरियस रोलमा हुन्थेँ । तर, मनकामनामा भने मैले कमेडी भूमिका निर्वाह गरेँ । त्यो फिल्मको मेरो डायलग– जब म आठ क्लासमा पढ्थेँ, निकै हिट थियो । जहाँ जाँदा पनि मलाई दर्शकले त्यही डाइलग बोल्दै घेर्थे । त्यो फिल्मले त्यतिवेला १९ वटा हलमा एक सय १ दिन मनाएको थियो । त्यो फिल्मले मेरो करिअरमा निकै राम्रो प्रभाव पारेको थियो ।
तपस्या
आफूले अभिनय गरेकामध्ये सबैभन्दा बढी मन पर्ने फिल्मको पहिलो नम्बरमै पर्छ, ‘तपस्या’ । नारायण पुरीको निर्देशनमा बनेको त्यो फिल्ममा मैले १६ वर्षको किशोरदेखि ९० वर्षको वयोवृद्धसम्मको भूमिका निर्वाह गरेको छु ।
त्यतिवेला म त्यस्तै २६ वर्षको थिएँ होला, तर ९० वर्षको बूढोसम्म बनेँ । फिल्ममा किरण प्रताप र करिश्मा मानन्धर मेरा छोरा–बुहारी थिए । निकै चुनौती मोलेको फिल्म हो, तपस्या । त्यसैले मलाई विशेष लाग्छ ।
प्रेमपिण्ड
‘प्रेमपिण्ड’ त मेरो जीवनको अविस्मरणीय फिल्म हो । सत्य घटना र परिवेशमा आधारित प्रेमपिण्डमा अभिनय गर्न मैले निकै मिहिनेत गरेको थिएँ ।
त्यतिवेला म लामै कपाल पाल्थेँ । तर, प्रेमपिण्डका लागि मैले एकै दिन तीनचोटि कपाल कटाएको छु । निर्देशक यादव खरेल दाइले मलाई नकुलको चरित्रमा उत्रन कपाल छोट्याउन भन्नुभयो । मैले छोट्याएर आएँ । उहाँलाई चित्त बुझेन । फेरि गएर कटाएँ । दुईचोटि कपाल कटाउँदा पनि उहाँलाई चित्त बुझेन । अनि उहाँ आफँैले मलाई सैलुनमा लगेर कपाल कटाइदिनुभयो । त्यो फिल्मसँग सम्बन्धित थुप्रै घटना अहिले पनि उत्तिकै ताजा छन् ।
जय बाबा पशुपतिनाथ
नेपाली र हिन्दी, दुई भाषामा बनेको फिल्म हो, ‘जय बाबा पशुपतिनाथ’ । त्यो फिल्ममा काम गर्न पाउनुमा म आफूलाई भाग्यमानी ठान्छु । पहिलोचोटि सेटभित्र सुटिङ गरेको फिल्म हो त्यो । त्यसअघि सेट लगाएर सुटिङ गर्दा कस्तो हुन्छ भन्ने मलाई थाहा थिएन ।
सुटिङका लागि हामी मुम्बई गएका थियौँ । निर्देशक सतीशकुमार त्यतिवेला करिब ८५ वर्षको हुनुहुन्थ्यो । उहाँले भारतीय अभिनेता दिलीपकुमारलाई पनि फिल्म खेलाइसक्नुभएको थियो । त्यसैले मलाई उहाँ तिमी दिलीपकुमारजस्तो बुलन्द अभिनय गर्छाै भन्नुहुन्थ्यो ।
चुनौती
‘चुनौती’ फिल्म मेरा लागि निकै चुनौतीपूर्ण थियो । किनभने, त्यसअघि मैले त्यस्तो धेरै एक्सन फिल्म गरेको थिइनँ । मलाई अफर आएपछि म हच्किएको पनि थिएँ । मैले निर्देशक नरेश पौडेललाई, यो रोल त राजेश हमालजीलाई सुहाउँछ भनेको थिएँ । तर, उहाँले मलाई हौसला दिनुभयो । फिल्मको एउटा गीतमा मलाई कट्टु मात्र लगाएर नचाइएको छ । त्यो सबै राजाराम पौडेलजीले गर्दा भएको हो । पहिला कट्टु मात्र लगाउने कुरा थिएन । सुटिङका क्रममा उहाँले मेरा सबै कपडा नदीमा भिजाइदिनुभयो । नृत्यनिर्देशक कमल राई पनि उहाँसँग मिल्नुभएको रहेछ । मलाई त कट्टुमा मात्र नाच्न लगाइयो । गर्मी महिना थियो, दिनभरि त्रिशूलीको बालुवामा लडिबुडी गर्नुपरेकाले मेरो जिउको खाला नै गएको थियो । त्यो फिल्ममा श्रीकृष्ण श्रेष्ठ र मैले सँगै काम गरेका छौँ । त्यतिवेलाका अन्य सहकर्मीहरू अहिले पनि छन् । तर, श्री छैनन्, त्यो फिल्मको कुरा आउँदा मलाई श्रीको याद आउँछ ।
रगत
मलाई विशेष लाग्ने अर्काे फिल्म हो, ‘रगत’ । जातीय छुवाछुतको विषयमा बनेको रगत मेरो अघिल्लो चरणको अन्तिम फिल्म हो । त्यो फिल्ममा बिहान चार बजेसम्म सुटिङ गरेर म ६ बजे अमेरिका उडेको थिएँ । त्यसैले रगतमा मेरो स्वर छैन ।
बन्दिपुरमा सुटिङ भएको थियो, रगत । फिल्ममा मैले आरन चलाउने विश्वकर्माको भूमिका निर्वाह गरेको छु । सुटिङमा एक लन्च ब्रेकको समयमा पनि मैले आरानमै बसेर खाना खाएँ । त्यो कुरा गाउँभरि फैलिएछ । साँझ त गाउँलेहरू, बाहुनको छोरो भएर आरनमा बसेर खाने ? भन्दै जुलुस लिएर आए । हामीले बल्लतल्ल गाउँलेलाई सम्झाएर पठायौँ । जातीय छुवाछुत, विभेदविरुद्धको त्यो फिल्म मलाई विशेष लाग्छ।
नाइँ नभन्नू ल–२
१६ वर्ष अमेरिका बसेकाले मलाई नयाँ पुस्ताका दर्शकले बिर्सिसकेका थिए । ‘मानव’ फिल्मबाट मेरो ‘रि–इन्ट्री’ भए पनि नाइँ नभन्नू ल–२ ले मलाई धेरै फाइदा पुर्यायो ।
तीन हप्ताको छुट्टीमा स्वदेश आएका वेला अभिनय गरेको फिल्म हो, नाइँ नभन्नू ल–२ । विकास आचार्य दाइले मलाई निकै सुवर्ण अवसर दिनुभयो । त्यो फिल्मबाट मलाई बच्चाबच्चाले पनि चिने । उनीहरूमाझ पनि मलाई त्यो फिल्मले चिनायो । त्यसैले मलाई यो फिल्म विशेष लाग्छ ।
पञ्चायत
मैले अभिनय गरेको पछिल्लो फिल्म ‘पञ्चायत’प्रति मलाई ठूलो आशा छ । आजभन्दा झन्डै साढे चार दशकअघिको नेपाली समाजको कथामा बनेको पञ्चायतलाई सेन्सरले अनावश्यक रूपमा कैँची चलाएकोमा हामी सन्तुष्ट छैनौँ । फिल्ममा मैले निकै मिहिनेत गरेको छु । बाग्लुङको लवज सिक्न मलाई धेरै समय लाग्यो । गेटअपमा उत्रिन तीन घण्टाभन्दा बढी मेकअप गर्नुपर्दथ्यो ।पञ्चायतमा म एकदमै चुनौतीपूर्ण भूमिकामा छु । मेरो बुबा आठ–दश वर्ष प्रधानपञ्च हुनुहुन्थ्यो । उहाँसँगका स्मरणले मलाई पञ्चायतको चरित्रमा उत्रिन सहज त भयो, तर निकै मिहिनेत गर्नुपर्यो । तत्कालीन नेपाली समाजको कथा भएकाले मलाई यो फिल्म विशेष लाग्छ ।
नयाँ पत्रिका बाट जस्ताको तेस्तै