चलचित्र पत्रकारिता सम्मान तथा पुरस्कार प्रदान (फोटो फिचर)


सेलिब्रेटी नेपाल काठमाडौँ
चलचित्र पत्रकार संघ, नेपालको अठारौं स्थापना दिवस भब्य रुपमा मनाईएको छ स्थापना दिवसको उपलक्ष्यमा ‘चलचित्र पत्रकारिता सम्मान र पुरस्कार’ पनि वितरण गरिएको छ ।
चलचित्र पत्रकारिता दिवसको अवसर पारेर चलचित्र पत्रकार संघ, नेपालले हरेक बर्ष १ जना रंग पत्रकारलाई सम्मान र २ जना रंग पत्रकारलाई पुरस्कार प्रदान गर्ने कार्यलाई निरन्तरता दिंदै आएको छ । यो बर्षदेखि १ जना रंग पत्रकारलाई ‘चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार’ पनि दिने कार्य भएको छ ।

राजधानीमा आयोजित एक कार्यक्रममा डाक्टर नवराज लम्साललाइ ‘चलचित्र पत्रकारिता सम्मान’बाट सम्मानित गरियो । लम्सालले चलचित्र तथा कला पत्रकारिताका माध्यमबाट दशक लामो समयदेखि पुर्‍याउँदै आएको योगदान तथा चलचित्र पत्रकारिताको नाम उँचो बनाउन योगदान गरेको भन्दै सम्मान गरिएको हो । बीबीसी नेपाली सेवा तथा रेडियो नेपालमा रहेर कला पत्रकारिता गर्दै आएका लम्साल साहित्यकार पनि हुन् । पत्रकार तथा साहित्यकार डा.नबराज लम्साल भने बिशेष कार्यले गर्दा उपस्थित थिएनन उनको सम्मान श्रीमतीले ग्रहण गरिन ।

यस्तै, सगरमाथा टेलिभिजनमा रहेर रंग पत्रकारिता गर्दै आएका पत्रकार पारस पौडेल र अनलाइनखबरमा रहेर रंग पत्रकारिता गर्दै आएका पत्रकार विजय सुवेदी ‘आवाज’लाई यो बर्षको ‘चलचित्र पत्रकारिता पुरस्कार’ प्रदान गरिएको छ । विगत १२ बर्षदेखि रंग पत्रकारितामा सक्रिय सुवेदीले रेडियो उपत्यका, कान्तिपुर एफ.एम, तराई टीभी हुँदै हाल अनलाइनखबरमा रंग पत्रकारिता गर्दै आएका छन् । चलचित्र पुरस्कार अन्तर्गत जनही नगद एक्काइस हजार पनि प्रदान गरिएको छ नगद राशि लाइ एफ.डी कम्पनि र डिजिटल सिनेमा नेपालले प्रायोजन गरेका हुन् पौडेल र सुवेदी दुबै जनालाई २१ हजार नगद, ट्रफीका साथमा पुरस्कृत गरिएको छ ।

यस्तै, ‘चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार’बाट भने पहिलो पोष्टमा कार्यरत स्वेच्छा राउतलाई पुरस्कृत गरियो । उनलाई ल्यापटप, ट्रफीका साथमा सम्मानित गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि द्वय बरिस्ट कलाकार हरिबंश आचार्य र पत्रकार महासंघका अध्यक्ष महेन्द्र विस्ट रहेका थिए भने कार्यक्रममा चलचित्र क्षेत्रका विभिन्न बरिस्ट कलाकार,गायक संगीतकार तथा चलचित्र पत्रकारको उल्लेख्य उपस्थिति रहेको थियो ।