
काठमाडौँ । रसुवासहित नुवाकोट, धादिङलगायतका जिल्लामा बाढीपहिरोले ठूलो जनधनको क्षति पुर्याएपछि त्यसको प्रभाव नेपाली मनोरञ्जन क्षेत्रमा समेत परेको छ। विपद्का कारण देशको अवस्था असहज बनेसँगै पूर्वनिर्धारित सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रमहरू धमाधम स्थगित हुन थालेका छन्।
हरेक वर्ष हास्यव्यङ्ग्यमार्फत दर्शकलाई मनोरञ्जन प्रदान गर्दै आएको ‘गाईजात्रा’ कार्यक्रमसमेत यसपटक रोकिएको छ। हास्यकलाकार मनोज गजुरेलको समूहले प्रज्ञा–प्रतिष्ठानमा भदौ १२ देखि १४ गतेसम्म आयोजना गर्ने तयारी गरेको ‘८३ सालको गाईजात्रा’ तत्कालका लागि स्थगित गरेको हो। कार्यक्रमका लागि हल बुकिङदेखि अन्य व्यवस्थापकीय तयारी पूरा भइसके पनि मुलुक शोकमा रहेका बेला मनोरञ्जनात्मक कार्यक्रम गर्नु उपयुक्त नहुने भन्दै स्थगित गरिएको गजुरेलले बताएका छन्। परिस्थिति सहज भएपछि उपयुक्त समयमा कार्यक्रम पुनः आयोजना गरिने उनले जानकारी दिएका छन्।
कार्यक्रममा मनोज गजुरेलसँगै शैलेन्द्र सिम्खडा, लक्ष्मण गाम्नागे, चक्र दवाडी, सुमन कार्की, मेक्सम गौडेल, प्रभात लामा, सीता न्यौपानेलगायत कलाकारको प्रस्तुति रहने तय भएको थियो।
त्यसैगरी, सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) ले भदौ १२ देखि १५ गतेसम्म आयोजना गर्ने तयारी गरेको ‘हास्य व्यङ्ग्य प्रहसन २०८३’ पनि स्थगित भएको छ। संस्थानका महाप्रबन्धक किरणबाबु पुनका अनुसार देशमा उत्पन्न विषम परिस्थितिलाई मध्यनजर गर्दै कार्यक्रम रोकिएको हो। प्रहसनमा भरतमणि पौडेल, सुमन कोइराला, दिनेश काफ्लेलगायत करिब दुई दर्जन कलाकार सहभागी हुने तयारी थियो।
विपद्को प्रभाव अन्तर्राष्ट्रिय सांगीतिक कार्यक्रमसम्म पुगेको छ। नेपाल भ्रमणमा रहेकी अमेरिकी कन्ट्री तथा रक गायिका लिन जेसिकाको काठमाडौँमा हुने भनिएको कन्सर्ट पनि स्थगित गरिएको छ। अमेरिकी दूतावासले प्राकृतिक विपत्तिको अवस्थालाई ध्यानमा राख्दै पुल्चोकस्थित ‘द प्लाजा’मा शनिबार आयोजना हुने भनिएको कार्यक्रम स्थगित गरिएको जनाएको हो।
यसैबीच, परिवर्तन नेपालले शुक्रबार आयोजना गर्न लागेको ‘चेतन कार्की स्मृति पुरस्कार’ वितरण कार्यक्रमसमेत स्थगित गरेको छ। संस्थाका अध्यक्ष मोहन निरौलाले अहिले पुरस्कार वितरणभन्दा विपद्मा परेकाहरूको उद्धार तथा राहतमा ध्यान दिनुपर्ने अवस्था रहेकाले कार्यक्रम रोकिएको बताएका छन्।
देशभित्र मात्रै होइन, विदेशमा रहेका नेपाली कलाकारहरूले पनि विपद्को अवस्थामा ऐक्यबद्धता जनाएका छन्। अमेरिकाको सांगीतिक यात्रामा रहेको लोकप्रिय ब्यान्ड **‘कन्दरा’**ले एटलान्टामा हुने आफ्नो निर्धारित प्रस्तुतिलाई श्रद्धाञ्जली तथा स्मृति सभामा परिणत गर्ने निर्णय गरेको छ। ब्यान्डले मनोरञ्जनभन्दा मानवीय संवेदना महत्वपूर्ण रहेको भन्दै संगीतलाई सेवासँग जोड्ने प्रतिबद्धता जनाएको छ।
यसअघि गीतकार संघ नेपालले आफ्नो वार्षिकोत्सव कार्यक्रम स्थगित गरिसकेको छ। त्यस्तै, गायिका रचना रिमाल र एलिना चौहानले पनि अस्ट्रेलियामा आयोजना हुने आफ्ना निर्धारित सांगीतिक प्रस्तुति रोकेका छन्।
विपद्को यस्तो संवेदनशील समयमा मनोरञ्जन क्षेत्रले पनि उत्सवभन्दा मानवीय संवेदनालाई प्राथमिकता दिँदै कार्यक्रम स्थगित गर्ने क्रम बढेको छ।


