वाग्लेलाई राष्ट्रिय चलचित्र पत्रकारिता रजत सम्मान, जयन र कुवेरलाई राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान


काठमाडौं । चलचित्र पत्रकार संघ नेपालले यस वर्षको राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान तथा पुरस्कार घोषणा गरेको छ । संघले वरिष्ठ पत्रकार अनन्त वाग्लेलाई ‘राष्ट्रिय चलचित्र पत्रकारिता रजत सम्मान २०८३’ प्रदान गर्ने भएको छ । उक्त सम्मानसँगै नगद रु. ५५ हजार ५५५ समेत प्रदान गरिनेछ ।

त्यस्तै, ‘राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान २०८३’ बाट जयन सुब्बा मानन्धर र कुवेर गिरीलाई सम्मानित गरिने संघले जनाएको छ ।

संघका अध्यक्ष समीर बलामीको अध्यक्षतामा शुक्रबार काठमाडौंमा बसेको कार्यसमिति बैठकले आगामी जेठ ७ गते आयोजना हुने २७औँ वार्षिकोत्सव तथा राष्ट्रिय चलचित्र पत्रकारिता दिवसको अवसरमा विभिन्न विधामा सम्मान तथा पुरस्कार प्रदान गर्ने सर्वसम्मत निर्णय गरेको हो ।

घोषणा अनुसार, ‘राष्ट्रिय चलचित्र पत्रकारिता मरणोपरान्त विशेष सम्मान’ स्वर्गीय दिनेश सिटौलालाई प्रदान गरिनेछ । संघका महासचिव गोपीकृष्ण चापागाईँद्वारा जारी प्रेस विज्ञप्तिअनुसार ‘स्व. दिनेश सिटौला स्मृति राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार २०८३’ सुरक्षा भट्टराईलाई प्रदान गरिने भएको छ । उक्त पुरस्कारसँगै नगद रु. ५१ हजार प्रदान गरिनेछ ।

यसैगरी, ‘राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार २०८३’ वैकुण्ठराज पराजुलीलाई प्रदान गरिनेछ । यो पुरस्कारमा पनि नगद रु. ५१ हजार प्रदान गरिनेछ । साथै, नगद रु. २५ हजारसहित ‘राष्ट्रिय चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार’ मिलन ढुंगानालाई प्रदान गर्ने निर्णय गरिएको छ ।

चलचित्र पत्रकार संघ नेपालले आफ्नो स्थापना दिवस जेठ ७ गतेको अवसर पारेर प्रत्येक वर्ष चलचित्र पत्रकारिता क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तित्वलाई सम्मान गर्दै आएको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2026 | All Right Reserved.