
काठमाडौँ । यसै शुक्रबारदेखि प्रदर्शनमा आउन लागेको नेपाली फिल्म ‘कुमारी’ लाई बलिउड चलचित्र ‘सैयारा’ को नक्कल भनिएको विषयमा निर्देशक दिनेश राउतले आपत्ति जनाएका छन्। उनले यस्तो तुलना फिल्मप्रति गलत धारणा बनाउने प्रयास मात्र भएको बताएका छन्।
बुधबार काठमाडौंमा आयोजित पत्रकार भेटघाटमा बोल्दै राउतले दुवै फिल्मबीच कुनै समानता नरहेको स्पष्ट पारे। उनका अनुसार कथा, प्रस्तुति र भावनात्मक संरचना पूर्ण रूपमा फरक भएकाले ‘नक्कल’ को आरोप निराधार हो।
‘कुमारी’ को फर्स्टलुक पोस्टर सार्वजनिक हुँदा ‘सैयारा’ भारतीय बजारमा चर्चामा थियो। दुवै फिल्ममा नयाँ अनुहार र प्रेमकथा केन्द्रित विषयवस्तु देखिएकाले सुरुदेखि नै सामाजिक सञ्जालमा तुलना हुन थालेको थियो। गीत र ट्रेलर सार्वजनिक भएपछि पनि यस्तो बहस रोकिएन।

यस विषयमा राउतले प्रतिक्रिया दिँदै भने, “सिर्फ लभस्टोरी र नयाँ कलाकार छन् भन्दैमा दुई फिल्मलाई एउटै भन्न मिल्दैन। ‘कुमारी’ आफ्नै कथा र संवेदनासहित आएको फिल्म हो। रिलिजपछि दर्शकले फरकपन आफैं महसुस गर्नुहुनेछ।”
उनले ‘कुमारी’ आफ्ना अघिल्ला प्रेमकथा फिल्मभन्दा भिन्न स्वाद दिने दाबी पनि गरे। “साथीहरूको सुझावपछि धेरै समयपछि प्रेमकथा निर्देशन गरेको हुँ। अहिले प्रेमकथालाई हेर्ने मेरो दृष्टिकोण परिवर्तन भएको छ, त्यसैले यसमा नयाँ अनुभूति पाइन्छ,” उनले भने।
फिल्ममा अभिषेक खड्का र आकृति राजभण्डारी मुख्य भूमिकामा देखिएका छन् भने घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकांक्षा कार्की, मधु खड्का र सनम श्रेष्ठको पनि अभिनय रहेको छ। महेन्द्र अधिकारी निर्माता रहेको यस फिल्ममा विकास सुवेदीको लेखन, सुसन प्रजापतिको छायांकन र सुप्रिम पराजुलीको सम्पादन छ।
निर्माण टिमको विश्वास छ प्रदर्शनपछि दर्शकले तुलना होइन, ‘कुमारी’ को आफ्नै कथा र प्रस्तुति सम्झिनेछन्।

