
काठमाडौं । एच विनोदको निर्देशनमा निर्माण भएको तमिल सिनेमा ‘जन नायगन’को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ । शनिबार साँझ सार्वजनिक गरिएको सिनेमाको ट्रेलरमा तमिल सुपरस्टार थलापति विजयको दमदार एक्सन अवतार देख्न सकिन्छ । यो सिनेमालाई हिंन्दी भाषामा ‘जन नेता’ नाममा रिलिज गरिनेछ ।
यो सिनेमाबाट सुपरस्टार थलापति विजय करिब एक वर्षपछि ठुलो पर्दामा देखिँदैछन् । आगामी जनवरी ९ मा रिलिज हुन लागेको यो सिनेमा विजयको अन्तिम सिनेमा हो । त्यसैले पनि उनका प्रशंसकका लागि ‘जन नेता’ खास छ । यसपछि उनी अभिनय करिअर छाडेर पूर्णकालीन राजनीतिमा होमिँदैछन् । त्यसका लागि उनले आफ्नो नेतृत्वमा पार्टी समेत गठन गरिसकेका छन् । उनको पार्टीले यस वर्ष हुने तमिलनाडुको राज्यसभा निर्वाचनमा भाग लिँदैछ ।
यसैबीच, सिनेमाको हिंन्दीसहित तीन भाषामा ट्रेलर सार्वजनिक गरिएको हो । एक्सन दृश्यले भरिएको ट्रेलरमा विजयसहित बबी देओल, प्रकाश राज, पूजा हेगडे, ममता वैजु लगायतका प्रमुख कलाकारलाई स्थान दिइएको छ । बलिउड अभिनेता बबी देवल सिनेमामा भिलेनको भूमिकामा देखिएका छन् । सिनेमामा विजयसँग उनी आमने सामने हुने संकेत ट्रेलरले दिन्छ ।
सार्वजनिक ट्रेलरमा विजयलाई प्रहरीको भूमिकामा देख्न सकिन्छ । उनकी छोरीमाथि आपराधिक समूहले दुव्र्यवहार गरेपछि कथाले महत्त्वपूर्ण मोड लिएको देखिन्छ । भारतलाई ध्वस्त पार्न खोज्ने पात्रविरुद्ध उनले गरेको लडाइँलाई पनि सशक्त ढंगले देखाइएको छ । ट्रेलरमा एक्सन र भावनात्मक पक्षको सन्तुलित संयोजनले दर्शकमाझ सिनेमाप्रति उत्सुकता थपेको छ ।
यो सिनेमा विजयको अन्तिम भएकाले यसले भारतमा कीर्तिमानी ओपनिङ गर्ने प्रक्षेपण गरिएको छ । तेलुगु भाषामा समेत बनेको यो फिल्ममा विजयले पारिश्रमिक मात्र २७५ करोड लिएका छन्, जुन यसअघि भारतमा कुनै कलाकारले पाएका थिएनन् । सिनेमाको कथा अभिनेता विजरको राजनितिक यात्रालाई सर्पोट मिल्नेगरी लेखिएको बलिउड मिडियाले उल्लेख गरेका छन् । जसको छनक सार्वजनिक ट्रेलरमा समेत हेर्न सकिन्छ ।

