
काठमाडौं । पप जनराको नयाँ गीत ‘भनिदेऊ’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ। आधुनिक प्रस्तुति र युवा भावनालाई केन्द्रमा राखेर तयार गरिएको यस गीतको भिडियोमा युबिना भट्टराई, निर्वाण महर्जन र उदय शाही फिचर्ड छन्।
भिडियोमा सह–कलाकारका रूपमा रेश्मा डंगोल, उजय शाही, शार्दुल कर्माचार्य र हितेश श्रेष्ठको पनि सहभागिता छ। गीतका शब्द र स्वर उदय शाहीकै हुन् भने संगीत उदय शाही र के.एम. जोशीले संयुक्त रूपमा तयार गरेका हुन्। गीतको एरेञ्ज, मिक्सिङ र मास्टरिङ के.एम. जोशीले गरेका छन्।
भिडियो पक्षतर्फ, क्यामेरा असिस्टेन्टका रूपमा अजय श्रेष्ठ र शार्दुल कर्माचार्य रहेका छन्। मेकअप आर्टिस्ट रेश्मा डंगोल हुन् भने प्रोडक्सनको जिम्मेवारी हितेश श्रेष्ठ र उजय शाहीले सम्हालेका छन्। भिडियोको सिनेमाटोग्राफी, सम्पादन र निर्देशन उमंगशाहीले गरेका हुन्।
निर्देशक शाहीका अनुसार उक्त म्युजिक भिडियो रिभर्स स्टोरीको अवधारणामा आधारित छ, जसले दर्शकलाई अन्त्यबाट सुरुवाततर्फ लैजान्छ। फरक सोच र नयाँ प्रयोगसहित तयार पारिएको यो भिडियो नेपालमा हालसम्म कमै मात्रामा देखिएका शैलीमध्ये एक हो।
उनले भने, “विदेशमा यस्ता रिभर्स स्टोरी बोकेका भिडियोहरू बनिरहेका छन्, तर नेपालमा भने यस्तो प्रयास लगभग भएको छैन। त्यसैले हामीले केही नयाँ र फरक प्रस्तुत गर्ने कोशिस गरेका हौँ।” निर्देशक शाहीको यो प्रयासले नेपाली म्युजिक भिडियोमा नयाँ धार थप्ने विश्वास निर्माण टिमले व्यक्त गरेको छ।


