रणवीर सिंहको ‘धुरन्धर’ नेपालमा श्याडो पिक्चर्सले वितरण गर्ने


काठमाडौं । नेपाली चलचित्र वितरण क्षेत्रमा छोटो समयमा नै आफ्नो पहिचान बनाउँदै अघि बढिरहेको ‘श्याडो पिक्चर्स’ले अन्तर्राष्ट्रिय फिल्म बजारमा पनि प्रभावशाली उपस्थिति जनाउन थालेको छ। बलिउडको प्रतिक्षित एक्सन–थ्रिलर फिल्म ‘धुरन्धर’ को नेपाल वितरण अधिकार श्याडो पिक्चर्सले प्राप्त गरेको छ।

यसअघि नेपाली चलचित्र ‘आउटल दफा २१९’ को निर्माण कम्पनीका रूपमा परिचित श्याडो पिक्चर्सले अब बलिउड बजारसम्म आफ्नो पहुँच विस्तार गर्न सफल भएको हो। ‘धुरन्धर’का निर्माता जियो स्टुडियोजले श्याडो पिक्चर्सलाई नेपालका लागि आधिकारिक विक्रेता तथा वितरण साझेदारका रूपमा मान्यता दिएको छ। यससँगै कम्पनीले भारतको मुम्बईमा पनि आफ्नाे शाखा विस्तार गरेको छ।

श्याडो पिक्चर्स र जियो स्टुडियोजबीचको सहकार्यले नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउने नयाँ सम्भावनाको ढोका खोलेको छ। जियोको विश्वव्यापी ओटीटी प्लेटफर्ममार्फत अब नेपाली चलचित्र पनि अन्तर्राष्ट्रिय दर्शकसम्म पुग्ने सम्भावना बलियो बनेको कम्पनीका डाइरेक्टर अफ बिजनेस डेभलपमेन्ट अरुण रिजालले विश्वास व्यक्त गरेका छन्।

विदेशी ठूला ब्यानरका चलचित्रको आधिकारिक वितरण अधिकार प्राप्त गर्नु नेपाली कम्पनीका लागि उल्लेखनीय उपलब्धि भएको उनले बताए। यसले नेपाली चलचित्र बजारमा विश्वस्तरीय व्यावसायिकता र नयाँ अवसर भित्रिने अपेक्षा गरिएको छ। श्याडो पिक्चर्सका अध्यक्ष अमित अग्रहरीले कम्पनीको यो कदमले नेपाली चलचित्र बजारलाई ग्लोबल वन–स्ट्रिममा लैजाने सम्भावना बढाएको बताएका छन्।

बलिउडका मल्टिस्टार कलाकारहरूको दमदार उपस्थितिसहित तयार भएको ‘धुरन्धर’ आगामी डिसेम्बर ५ मा विश्वव्यापी रूपमा रिलिज हुँदैछ। आदित्य धरको निर्देशनमा बनेको यस फिल्ममा रणवीर सिंह, संजय दत्त, अक्षय खन्ना, अर्जुन रामपाल, आर. माधवन, सारा अर्जुनलगायत कलाकारहरूको अभिनय रहेको छ। ‘धुरन्धर’ले दर्शकलाई फरक र स्तरिय सिनेमाटिक अनुभव दिने विश्वास निर्माण पक्षले लिएको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.