दमन रुपाखेतीको ‘राष्ट्रिय चिडिया एयरबस’ सार्वजनिक (भिडियोसहित)


काठमाडौं । हास्न नजान्नेहरूलाई समेत पेट मिचेर हाँस्न बाध्य पार्ने, अनि देशलाई माया गर्नेहरूले अवश्य हेर्नैपर्ने गाईजात्रा विशेष व्यंग्य कार्यक्रम ‘राष्ट्रिय चिडिया एयरबस’ युट्युबमार्फत सार्वजनिक भएको छ।

हास्य कलाकार दमन रुपाखेती र उत्तम कोदेको संयुक्त परिकल्पना र मेहनतबाट तयार भएको यो कार्यक्रम केवल एक मनोरञ्जनात्मक भिडियो मात्र होइन, राष्ट्रिय स्तरको व्यंग्यात्मक उडान हो जहाँ नेतादेखि जनतासम्म, लुते पूजादेखि संसद छेउसम्म सबैलाई एउटै फ्लाइटमा उडाइएको छ।

निर्देशक दमन रुपाखेती भन्छन्,“अब त न त हाँस्न बाँकी छ, न रिसाउन। यही कारणले व्यंग्यलाई चेतनाको माध्यम बनाउने प्रयास गरेका छौँ। ‘राष्ट्रिय चिडिया एयरबस’ केवल हाँसो होइन यो सन्देश, चेतना र आशाको संयोजन हो।”

कार्यक्रमको सुरुवात देशको जटिल यथार्थबाट हुन्छ। नेताहरूको व्यवहार, जनताको मनोवृत्ति र सुधारको क्षीण आशा—सबैलाई व्यंग्यात्मक रुपमा प्रस्तुत गरिएको छ। यद्यपि, कार्यक्रम टन्न हाँसोले भरिएको छ।

यस श्रृंखलामा ‘राष्ट्रिय लुते पूजा’, ‘संसद छेउ’, ‘नेताको संकल्प’ जस्ता व्यंग्य अंशहरू पनि समावेश छन्, जसले गम्भीर यथार्थलाई हाँस्य रसमा डुबाएर दर्शकसामु प्रस्तुत गर्छ।

कार्यक्रममा दमन रुपाखेती, उत्तम अर्याल ‘कोदे’, मिनु कुमाइ, दिलिप ढकाल, बल बहादुर घतानी, सुप्रिया हमाल, समिता रिजाल र दीपक रायमाझी लगायतका कलाकारहरूको अभिनय रहेको छ।

Copyright © 2012 - 2026 | All Right Reserved.