‘जन्ते बाख्रो’ चलचित्रको दोस्रो गीत सार्वजनिक


काठमाडौं। सिमोस सुनुवारको निर्देशनमा तयार भएको सामाजिक कथामा आधारित चलचित्र जन्ते बाख्रोको दोस्रो गीत ‘अङ्गुरको झुप्पो’ सार्वजनिक गरिएको छ। शुक्रबार सार्वजनिक गरिएको गीतमा महेश काफ्ले र अस्मिता अधिकारीको स्वर रहेको छ।

गीतमा महेशकै शब्द र सङ्गीत रहेको छ भने एरेञ्ज, मिक्सिङ र मास्टरिङ रिकेश गुरुङले गरेका छन्। भिडियोमा प्रमुख कलाकार आशिफ शाह र गरिमा शर्मा फिचर्ड छन्। भिडियोमा आशिफले गरिमालाई गीतमार्फत फकाउने दृश्य समेटिएको छ।

जन्ते बाख्रो चलचित्रमा सौगात मल्ल, रमा थपलिया, लोकेन्द्र लेखक, विशाल पहाडी, कमल देवकोटा, रुशा न्यौपाने, कुसुम शर्मा, स्नेहा जोशी, समापिका गौतम र कुशल गजमेरको अभिनय रहेको छ।

मुईन इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको चलचित्रको कथा, पटकथा र संवाद प्रदीप भारद्धाजले लेखेका हुन्। चलचित्रका निर्माता सन्तोष गौतम हुन्। छायांकन हरि हुँमागाईले, सिनेमाटोग्राफी उत्तम हुँमागाईले, सम्पादन सुनिल शिवभक्तिले तथा पोस्टर डिजाइन रोयल भिमसेन (ट्राइडेन्ट कन्सेप्ट टिम) ले गरेका हुन्।

नेपाली समाजमा बेहुली भित्र्याउने दिन जन्तीलाई खुवाइने विशेष भोजलाई ‘जन्ते बाख्रो’ भनिन्छ। चलचित्रको कथा यही सामाजिक सन्दर्भमा आधारित छ। चलचित्र यही जेठ २३ गतेदेखि नेपालसहित विदेशमा एकसाथ प्रदर्शनमा आउने छ। चलचित्रको वितरण टिफल्क फिल्मस्ले गर्नेछ भने डिजिटल अधिकार जी टु वान डिजिटलले खरिद गरेको छ।

Copyright © 2012 - 2026 | All Right Reserved.