सुशील पोखरेलको ‘परालको आगो’ मा प्रकाश सपुत अनुबन्धित


काठमाडौं । कथाकार गुरुप्रसाद मैनालीको कृति ‘परालको आगो’ मा आधारित रहेर निर्माण हुने फिल्म ‘परालको आगो’मा कलाकार प्रकाश सपुत अनुबन्धित भएका छन् । फिल्म निर्माण कम्पनी हरिओम सिने मेकर्सका तर्फबाट निर्माता सुशील पोखरेलले प्रकाशलाई फिल्ममा अनुबन्ध गरेका हुन् । ‘परालको आगो’ गुरु प्रसाद मैनालीको कथा संग्रह ‘नासो’मा संग्रहित छ ।

निर्माता पोखरेलका अनुसार प्रकाश फिल्मका प्रमुख दुई पात्रमध्ये एक हुन् । यसअघि प्रमुख कलाकारका रुपमा जितु नेपाल र सुहाना थापा अनुबन्धित भइसकेका छन् । निर्माता पोखरेलले चामे,गौंथली र जुठे दमाईको वरिपरि घुम्ने कथामा जितु र प्रकाशको क्यारेक्टर चामे र जुठे दमाईमध्ये कुन भन्ने चाहिँ अहिले सस्पेन्समा नै राखेको बताए ।

फिल्ममा सुशील देवकोटाको लेखन, संकल्प भुजेलको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी, सत्य–स्वरुपराज आचार्यको संगीत रहनेछ । फिल्मका निर्माण नियन्त्रण नगेन्द्र घिमिरे हुन् ।

निर्माता पोखेलका अनुसार फिल्मको प्रदर्शन २०८२ मा हुनेछ । यो नाममा ४५ वर्षअघि निर्देशक प्रताप सुब्बाले फिल्म निर्माण गरेका थिए । निर्माता पोखरेलले यसपटक लोकेसन, प्रस्तुतीकरण र पटकथालाई फरक किसिमले फिल्ममा प्रस्तुत गर्न लागेको बताए । फिल्ममा निर्देशक लक्ष्मण सुनारको निर्देशन रहने छ । कथा ‘परालको आगो’ मा दुई पात्र चामे र गौँथलीको झैँझगडालाई प्रस्तुत गरिएको छ ।