दीप श्रेष्ठको गीतमा शिब श्रेष्ठ र अनु शाह


काठमाडौँ। बरिष्ठ गायक दीप श्रेष्ठको स्वरमा रहेको गीत ‘एक्लो भएछु’ सार्वजनिक गरिएको छ । मंगलबार राजधानीमा आयोजित एक कार्यक्रमका बिच सार्वजनिक गीतमा डा. बिनुबाबा अर्यालको शब्द र योगेन्द्र उपाध्यायको संगीत रहेको छ ।

बुढेसकालमा एक्लो जीवन जीउन बाध्य ब्यक्तिको कथा भनिएको गीतको भिडियोमा बरिष्ठ नायक शिव श्रेष्ठको अभिनय रहेको छ । सुरज तामाङको निर्देशन रहेको भिडियोमा श्रेष्ठसँगै नायिका अनु शाह र बालकलाकार देवासिस निरौलाको अभिनय, बिशाल थापाको छायाँकन र ज्वाला राईको सम्पादन रहेको छ । गीतको अडियो तथा भिडियोलाई गीतकार डा. अर्यालले निर्माण गरेकी हुन् ।

कार्यक्रममा गीतमा आवद्ध श्रष्टा तथा कलाकार सहित थुप्रै पत्रकारहरुको उपस्थिति रहेको थियो। संगीतकार योगेन्द्र उपाध्यायले शब्दको भाव अनुरुपकै संगीत तयार पार्ने आफ्नो इमान्दार प्रयास रहेको जनाए । निकै छानेर मात्र गीत गाउने बरिष्ठ गायक श्रेष्ठले आफ्नो कम्पोजलाई स्वीकारेर गीत गाइदिदा राम्रै काम गरेछु भनेर आत्मसन्तुष्टि मिलेको समेत उनको भनाई छ । गीतकार डा. अर्यालको भावनालाई मर्न नदिन आफुले सोही अनुरुप अडियो र भिडियोमा काम गरेको उनको तर्क छ ।

कार्यक्रममा बोल्दै बरिष्ठ गायक श्रेष्ठले गीतको शब्द र संगीतले आफुलाई छोएका कारण गीत गाउन तयार भएको बताएका छन् । आफ्ना अरु गीत भन्दा यो गीत केही फरक र बिशेष रहेको भन्दै उनले त्यसको श्रेय संगीतकार उपाध्यायलाई दिए । उनले संगीतकार उपाध्यायले आफुलाई फरक शैलीमा गाउन सिकाएको समेत बताए । यस्तै गीतका शब्दमै एउटा पूर्ण कथा रहेको भन्दै उनले शब्दको भावलाई मर्न नदिन सबैको मेहनत उत्तिकै प्रसंसनिय रहेको जनाए ।
यस्तै बरिष्ठ नायक शिब श्रेष्ठले शुरुमा आफु दीप श्रेष्ठको गीत भनेर अभिनय गर्न तयार भए पनि गीत सुनिसकेपछि भने साच्चिकै मन छोएको बताएका छन् । भिडियोमा अभिनय गर्दै गर्दा कतिपय ठाँउमा आफु साच्चिकै भावुक भएको उनको प्रतिक्रिया छ । उनले भिडियो निर्देशक तामाङको निर्देशकिय कौशलताको प्रसंसा गर्दै अभिनेत्री शाहको अभिनयको पनि आफु प्रसंसक भएको बताए । गीतकार डा अर्यालको मुटु छुने शब्दमा संगीतकार योगेन्द्र र गायक श्रेष्ठले प्राण भरेको उनको भनाई छ ।

यस्तै अभिनेत्री शाहले बरिष्ठ गायक श्रेष्ठको स्वर रहेको गीतमा बरिष्ठ नायक श्रेष्ठसँग स्कृन सेयर गर्न पाउनु आफ्ना लागि खुशीको कुरा भएको बताइन । गीतको अडियो निकै बलियो लागेरै भिडियोमा काम गरेको उनको भनाई छ ।

कार्यक्रममा बोल्दै गीतकार डा. अर्याललले गीतको रचना गर्भबारे प्रकाश पारेकी थिइन । उनले बृद्ध उमेरमा एक्लो जीवन कसैले भोग्न नपरोस भन्ने सन्देश दिन यो गीत तयार पारेको जनाइन ।