निर्देशक समाजले क्यानडा नेपाल माउन्टेन फिल्म फेस्टिभल गर्ने


काठमाडौँ । चलचित्र निर्देशक समाजको प्रस्तुतिमा ‘क्यानडा नेपाल माउन्टेन फिल्म फेस्टिभल २०२४’ आयोजना हुने भएको छ । कोशी प्रदेश विराटनगरमा असार १८ र १९ (जुलाई २ र ३) मा हुने फेस्टिभल नेपाल चलचित्रकर्मी महासङ्घ प्रदेश १ ले आयोजना गर्न लागेको हो ।

फेस्टिभलमा विसं २०७९ र २०८० सालमा निर्माण भएका चलचित्र, छोटा चलचित्र र वृत्तचित्रले सहभागिता जनाउन सक्नेछन् । हिमाल, पर्यटन र कला संस्कृतिसँग नजिक रहेका फिल्म फेस्टिभलको विशेष प्राथमिकतामा पर्नेछ । फेस्टिभलमा सहभागिता हुन चाहने फिल्मले यही असार ११ गते (जुन २५) भित्र आवेदन दिन सक्नेछन् ।

विभिन्न राष्ट्रिय स्तरका कलाकर्मीको समेत सहभागिता रहने फेस्टिभलमा चलचित्र प्रदर्शन, चलचित्रको संवाद लगायतका विभिन्न कार्यक्रम समेत आयोजना हुने फेस्टिभलको तयारी समेत सुरु भएको निर्देशक समाजका अध्यक्ष जनदीप पराजुलीले बताए ।

‘यो फेस्टिभल यसबर्ष कोशी प्रदेश विराटनगरमा आयोजना हुने भएपनि आगामी वर्षहरूमा हामीले देशभर लैजाने योजना बनाएका छौ’, पराजुलीले भने ‘फेस्टिभलले चलचित्र संस्कृतिको विकास गर्दै चलचित्र निर्माण र प्रदर्शनमा पनि सहयोग गर्नेछ ।’ फेस्टिभल भव्य र सव्य बनाउन आफूले कुनै कसुर बाँकी नराख्ने पराजुलीको धारणा रहेको छ ।

चलचित्र विकास बोर्डको सहकार्य रहेको फेस्टिभलमा किङडम इन्टरनेशनल र डब्लुसिसिएन सहयोगी संस्थाको रूपमा जोडिएका छन् । फेस्टिभलमा सहभागीताका लागि फर्म निर्देशक समाजको कार्यालय अनामनगरबाट उपलब्ध हुनेछ ।