‘बलिदान’ बाट समीर भट्ट प्रमुख भूमिकामा


काठमाडौं। निर्माणाधीन नेपाली चलचित्र ‘बलिदान’बाट अभिनेताको रूपमा समीर भट्टले डेब्यु गर्ने भएका छन् । आसुसेन फिल्मस् ले भट्टको फस्ट लुक पोस्टर सार्वजनिक गर्दै चलचित्रमा उनको प्रमुख भूमिका रहने जनाएको छ ।

समीर नेपाली चलचित्रमा एक्सन हिरोको रूपमा प्रख्यात बिराज भट्टका छोरा हुन् । समीरले लामो समयदेखि भारतको मुम्बईमा रहेर अभिनय, मार्सल आर्ट, नृत्य र द्वन्द्वमा तालिमहरू गरिरहेका थिए । चलचित्रका निर्माता तथा निर्देशक सन्तोष सेनले लामो समय लगाएर समीरलाई छनोट गरेको बताए ।

‘‘बलिदान’को कहानीमा एक पात्रका रूपमा युग पुरुषलाई छान्न भगीरथ प्रयास गरेका थियौँ। हाम्रो भूमिको यस्तो युग पुरुष जसले, परिवर्तनका नाममा जनतालाई बलि चढाउन लगाएर राज्यको अस्मिता लुटिरहेका कुटिलहरूको संहार गरोस्,’ पात्र छनोटको सङ्घर्ष सम्झँदै निर्देशक सेनले बताए, ‘अभिनेताका रूपमा युग पुरुष खोज्नु हामीलाई आइसल्यान्डमा सर्प खोज्नु जस्तो भएको थियो। बलिदानको युग पुरुषका लागि एक्सन, इमोसन, लुक्स र डाइलग चारै कलामा निपुर्ण कलाकार चाहिने थियो।’

‘एउटा भनाई छ, ‘दैवले तिमीले चिताउनु, म पुर्‍याउँछु भन्छ।’ काम प्रति लगाव भएपछि दैवले पनि खोजेको चिज जुराइदिने रहेछ। निकै दिनपछि हामीले भेट्टायौँ, हामीले खोजेका चारै गुण भएका युवा समीर भट्ट,’ सेन भन्छन्, ‘उनी दसौँ वर्षदेखि मुम्बईमा गुपचुप रहेर अभिनय, मार्सल आर्ट, नृत्य र द्वन्द्वका धेरै कक्षा र कार्यशालासँगै ठुलै तपस्या गरिरहेका रहेछन् । एकलव्यजस्तो गहन एकान्तमा रहेर कलाकारिताबारे उनले गरेको यो सङ्घर्ष, मेहनत र तपस्याले उनलाई बलिदानका लागि खरो उतारिदिएको छ।’

त्यसो त आसुसेन फिल्मस् ले हरेक चलचित्रमा नयाँ प्रतिभा खोजेर नेपाली चलचित्रमा देखिने अभाव पूर्ति गर्ने गरेको छ । आसुसेनका अध्यक्ष समेत रहेका निर्देशक सेन भन्छन्, ‘एकलव्यजस्ता समीर बलिदानका युग पुरुष त बन्ने नै भए, अब नेपाली चलचित्र जगतमा स्थापित हुनेछन् भन्ने कुरामा दुई मत छैन।’

देशको अस्मिता जोगाउन एक युग पुरुष कसरी जन्मिछ भन्ने कथाको वरपर यो चलचित्र रहने निर्देशक सेनले बताएका छन्। यो चलचित्रलाई एक सार्वभौम महाकथा भन्दै सेनले परिवर्तन र पहिचानका नाममा सोझा जनतालाई रक्तपातपूर्ण आन्दोलनमा होमिन लगाई बलिको बोको बनाउने र यसरी हत्याइने राज्य शक्तिमा आफै ढलीमली गर्दै राज्यको अस्मिता लुट्ने कुटिल व्यक्तिहरूलाई सिद्ध्याउनै पर्ने बेला आइसक्यो भन्ने सन्देश प्रदान गर्ने जनाए ।

आसुसेन फिल्मस् प्रा.ली. तथा सन्तोष सेनको प्रस्तुति रहने यस चलचित्रमा निर्माताको रूपमा पवन ब्राडफोर्ड बिस्ट तथा सह निर्माता प्रेम पुरी रहेका छन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.