फिल्म चलोस्–नचलोस् असर छैन सौगातलाई, असारसम्मलाई भईसके ‘प्याक’



काठमाडौं । यो वर्ष अहिलेसम्म सबैभन्दा धेरै कुन कलाकारको फिल्म प्रदर्शनमा आए ? फिल्मबारे चासो राख्ने जो कोहीले भन्नुहुनेछ, – सौगात मल्ल । बैशाखमा प्रदर्शनमा आएको ‘मन्त्र’देखि कात्तिकमा प्रदर्शनमा आएको ‘लाखे’सम्मलाई हेर्दा ७ महिनामा सौगातका ७ वटा फिल्म प्रदर्शनमा आईसकेका छन् । यद्यपी, ति फिल्ममध्ये २ वटा मात्र व्यवसायिक रुपमा सफल रहे । तर, सौगातको हकमा फिल्म चलेपनि नचलेपनि उनलाई भने असर गरेको देखिँदैन् । त्यसैले त उनको हातमा फिल्म नै फिल्म हुन्छन् सधै । फिल्म चलोस्, नचलोस् अफर लिएर उनीकहाँ पुग्ने निर्माता एवं निर्देशकहरुको संख्या बाक्लो छ ।

उनले साइन गरिसकेका फिल्मको संख्या पनि ठूलो छ । यद्यपी, तत्काल निर्माण हुने फिल्महरु हेर्दा सौगात असारसम्मका लागि ‘प्याक’ भईसकेका छन् । जून कुरा उनले आफूकहाँ अफर लिएर जाने निर्माता एवं निर्देशकलाई बताउने गरेका छन् । पुस महिनाभर उनले कुनै फिल्म गर्ने छैनन् । त्यसपश्चात सुरुवातमा उनले निश्चत बस्नेतको निर्देशनमा बन्ने ‘अनटाइटल’फिल्ममा अभिनय गर्नेछन् । लेखक यज्ञशको लेखन रहने फिल्ममा खगेन्द्र लामिछानेको पनि सहकार्य हुँदैछ ।

निश्चलको फिल्मपश्चात सौगातले ‘दुई नम्बरी’निर्माताको नयाँ फिल्म ‘हात्तिछाप’मा अभिनय गर्नेछन् । त्यसपश्चात सौगातले समय दिनेछन्, केही वर्ष अगाडि प्रदर्शनमा आएको फिल्म ‘हरि’को टिमले बनाउन लागेको नयाँ फिल्मलाई । विपिन कार्कीको अभिनय रहेको ‘हरि’ समीक्षात्मक रुपमा सफल मानिन्छ ।

फिल्म निर्देशक मनोज पण्डित र अभिनेता सौगातबीच पनि नयाँ फिल्ममा सहकार्य हुने तयारी छ । आफ्नै प्रोडक्सन हाउसबाट अर्को एउटा फिल्म बनाउने सोँचमा पनि सौगात छन् । यद्यपी, त्यसका लागि भने समय लाग्ने बताईएको छ । सौगात सिधै सुटिङमा जाँदैनन् । पात्रको तयारीका लागि केही समय लिने उनको बानी छ । त्यसकारण पनि यी फिल्मका लागि कम्तिमा ६ महिना समय लाग्ने देखिन्छ ।

हिजोआज पनि सौगातकहाँ नयाँ फिल्म लिएर निर्माता एवं निर्देशकहरु पुग्ने गरेका छन् । यद्यपी, अब उनलाई फिल्ममा खेलाउन साउनपछिसम्म कुर्नुपर्नेछ ।
उनी कथा चित्त नबुझेका थुप्रै फिल्महरु अस्वीकार समेत गर्दै आएका छन् । साथीभाइको अनुरोधलाई अस्वीकार गर्न नसक्दा कतिपय मन नलागेका फिल्म गर्न आफू बाध्य भएको सौगातले बताउँदै आएका छन् । फिल्म लुटमा ‘हाकु काले’को क्यारेक्टरले दिलाएको लोकप्रियतासँगै सौगातको चर्चा चुलिएको थियो ।

अहिलेको सन्दर्भमा उनको नामले हलसम्म दर्शकको ठूलो भीड तानिने गरेको देखिँदैन्, तर उनीप्रति निर्माता तथा निर्देशकको विश्वास भने गज्जबकै देखिने गरेको छ ।