‘विधागत पत्रकारिताको विकासमा प्रेस काउन्सिलको भूमिका’ विषयक अन्तरक्रिया सम्पन्न



काठमाडौं। प्रेस काउन्सिल नेपालले पत्रकार आचारसंहितालाई विभिन्न मातृभाषामा अनुवाद गरी प्रकाशन गर्ने अभियानलाई तीव्रता दिएको छ । काउन्सिलले हाल २ वटा (नेवा र मैथिली) भाषामा आचारसंहिता प्रकाशन गरेकोमा थप ३ वटा भाषामा अनुवाद गर्ने काम अन्तिम चरणमा पुगेको छ ।

काउन्सिलको विधागत पत्रकारिता विकास उपसमितिद्धारा मङ्गलबार आयोजित ‘विधागत पत्रकारिताको विकासमा प्रेस काउन्सिलको भूमिका’ विषयक कार्यक्रममा काउन्सिलले जारी गर्ने पत्रकार आचारसंहितालाई विभिन्न मातृभाषामा अनुवाद गर्ने कार्यलाई तीव्रता दिइएको बताइयो ।

हाल मैथिली र नेवा २ वटा भाषामा अनुवाद गरिएको र थप ३ वटा (डोटेल, थारु र भोजपुरी) भाषामा अनुवाद गर्ने काम अन्तिम चरणमा पुगेको अध्यक्ष बालकृष्ण बस्नेतले जानकारी दिए ।

बस्नेतले विधागत पत्रकारिताको विकासका लागि आवश्यक पहल लिन काउन्सिल तयार रहेको भन्दै सम्बन्धित पक्षबाट आउने सल्लाह र सुझाव सङ्कलन गरी हातेमालो गर्दै अघि बढ्ने विश्वास व्यक्त गरे ।

अध्यक्ष बस्नेतले विधागत पत्रकारितालाई बलियो बनाउन सके देश समृद्ध हुने भन्दै भाषाको जगेर्नामा टेवा पुग्ने बताए । बस्नेतले काउन्सिलले मातृभाषामा आचारसंहिता प्रकाशन गर्दै मातृभाषाको संरक्षण र सम्बद्र्घनमा योगदान दिएको बताए ।

विधागत पत्रकारिता विकास उपसमितिका संयोजक एवं काउन्सिलका सदस्य शरदप्रसाद अधिकारीले साहित्यलाई अनुत्पादक क्षेत्र भनेर सरकारले प्राथमिकतामा नराखेको गुनासो गरे । भाषा र संस्कृतिलाई बचाउनु पत्रकारिताको दायित्व भएकाले पनि यस किसिमका कार्यक्रम आउने दिनहरूमा गर्दै लैजाने बताए ।

काउन्सिलका सदस्य ठाकुरप्रसाद बेलबासेले पत्रकार र सरकारबिचको सम्बन्ध सेतुको काम काउन्सिलले गरेको भन्दै विधागत पत्रकारितालाई मुलधारमा ल्याउनुपर्ने बताउनुभयो । काउन्सिलका सदस्य दीपक पाण्डेले साहित्यिक पत्रकारितामा विशेष ध्यान दिनुपर्ने भन्दै समयसापेक्ष बनाएर विधागत पत्रकारितालाई विकास गर्नुपर्ने बताउनुभयो ।

काउन्सिलका पुर्वसदस्य चेतनाथ धमलाले विधागत पत्रकारितासम्बन्धी व्यवसायीक तालिम दिनुपर्ने, दक्षता अभिवृद्धि जस्ता कार्यक्रम गर्नुपर्ने बताउनुभयो ।चलचित्र पत्रकार सङ्घका सचिव रघुनाथ सापकोटाले पत्रकार आचारसंहिताको प्रभावकारी ढङ्गले पालना गर्नुपर्ने बताए ।

थारु पत्रकार सङ्घका पूर्व अध्यक्ष डा.कृष्णराज सर्वहारीले पत्रकार आचारसंहिता विभिन्न भाषामा अनुवाद गर्नुनै विधागत पत्रकारिताका लागि कोसेढुङ्गा भएको बताए । सर्वहारीले मातृभाषामा प्रकाशित पत्रिकाको वर्गीकरण सन्तोषजनक हुन नसकेको अवस्थामा थप सेवासुविधा दिएर काउन्सिलले प्रोत्साहन गर्नुपर्ने बताए ।

क्रियाशिल दलित पत्रकार सङ्घ नेपालका अध्यक्ष पवित्रा सुनारले महिलाहरूको समस्या र मुद्धालाई मुलधारका मिडियाले समेटन नसकेको बताइन् ।

सञ्चारिका समुहकी अध्यक्ष नितु पण्डितले भाषा बाँच्नु भनेको देशको कला र साहित्यको उत्थान हुनु भएकाले पनि विधागत पत्रकारिताको विकासमा काउन्सिलले महत्वपूर्ण भूमिका हुने बताइन्।

कार्यक्रममा काउन्सिलका सदस्य दुर्गा भण्डारी, जागरण मिडिया सेन्टरका पूर्वअध्यक्ष रेम विश्वकर्मा, वरिष्ठ प्रशासकीय अधिकृत (प्रवक्ता) दीपक खनाल, उपप्रशासकीय अधिकृत रामप्रसाद पोखरेल, वितरण सम्परीक्षण अधिकृत रहमतुल्ला मियाा लगायत विभिन्न सङ्घ संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.