कोरोनाको कारण पर धकेलियो ‘निफ’ फिल्म फेस्टिभल



काठमाडौं । नेपाल इन्टरनेसनल फिल्म फेस्टिभल (निफ)को चौथो संस्करण तत्कालका लागि स्थगित भएको छ । फागुनमा हुने भनिएको निफ अहिलेलाई स्थगित गरिएको आयोजक नेपाल चलचित्र तथा साँस्कृतिक प्रतिष्ठानले जनाएको छ । फागुनको १२ देखि १६ (फेब्रुअरी २४ देखि २८,२०२१) सम्म काठमाडौंमा गर्ने गरेर केही अगाडि घोषणा गरिएको फेस्टिभल कोरोना महामारीका कारण निर्धारित मितिमा हुन नसक्ने आयोजकले जनाएको हो ।

फेस्टिभल अब २०७८ बैशाखको २३ देखि २७ सम्म काठमाडौंमा आयोजना हुने आयोजक संस्था नेपाल चलचित्र तथा साँस्कृतिक प्रतिष्ठानले एक विज्ञप्तिमार्फत जनाएको छ । आयोजकले पूर्व निर्धारित मितिमा फेस्टिभल गर्ने गरी विश्वभरका फिल्म मेकरबाट फेस्टिभलमा सहभागिताका लागि आवेदन पनि खुला गरेको थियो । २०२० को जुलाई १ देखि नोभेम्बर ३० सम्म तोकिएको समयावधिमा ५२ देशका ४ सय बढी फिल्मले सहभागगिताका लागि आवेदन दिएको आयोजक संस्थाका अध्यक्ष केपी पाठकद्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । फिल्म मध्येबाट छानिएका फिल्मको सूची फागुन ८ (फ्रेब्रुअरी २०,२०२१ ) मा सार्वजनिक गरिने पनि विज्ञप्तिमा भनिएको छ ।

‘महामारीका कारण फिल्म मेकर चाहेर पनि फेस्टिभलमा सहभागी हुन सक्ने अवस्था छैन । भर्चुअल रुपमा गर्ने विकल्प हामीलाई खास प्रभावकारी लागेको छैन’, पाठकले भनेका छन् ‘ केही समय कुर्दा पुरानै स्वरुपमा फेस्टिभल गर्न सकिन्छ भन्ने अपेक्षासहित केही महिना सारेर फेस्टिभल गर्न लागेका हौं ।’ ‘विश्वका कथाहरुको कथ्य उत्सव’ भन्ने नाराका साथ ‘फिल्म संस्कृति’ को विकास गर्ने उद्देश्यसहित सुरु भएको फेस्टिभलमा यो वर्ष महामारीको विषयमा बनेका फिल्मको विधाथप गरिएको थियो ।

‘बेस्ट पान्डेमिक फिल्म’ नाम दिइएको यो विधामा विजेता फिल्मले ५ सय अमेरिकी डलर पुरस्कार प्राप्त गर्ने अध्यक्ष पाठकले जानकारी गराए । राष्ट्रिय र अन्तर्राष्ट्रिय गरी दुई भागमा बाँडेर प्रदान गरिने अवार्डमा अन्तर्राष्ट्रिय प्रतिष्पर्धा अन्तर्गत सर्वोत्कृष्ट फिचर फिल्मलाई १५ सय अमेरिकी डलर सहित गौतमबुद्ध अवार्ड प्रदान गरिनेछ, भने यो फिल्मले इन्टरनेसनल फेडरेसन अफ फिल्म सोसाइटिजको जुरीको तर्फबाट आइएफएफएस डन क्विजोट अवार्ड प्राप्त गर्नेछ । यसैगरी अन्तर्राष्ट्रिय विधातर्फ सर्वोत्कृष्ट वृत्तचित्रलाई १ हजार डलर राशिको माउन्ट एभरेष्ट अर्वाड, सर्वोत्कृष्ट एनिमेटेड चलचित्रलाई ७ सय ५० डलर राशीको मञ्जुश्री अवार्ड, सर्वोत्कृष्ट लघु चलचित्रलाई ५ सय डलर राशीको वाग्मती अर्वाड प्रदान गरिनेछ ।

नेपाली प्रतिष्पर्धा अन्तर्गत उत्कृष्ट फिचर फिल्मलाई रु. १ लाख नगद, उत्कृष्ट सर्ट फिल्मलाई रु. ५० हजार नगद र सर्ट फिल्म मध्येबाट उत्कृष्ट फिल्म निर्देशकलाई ट्रफी प्रदान गरिनेछ । यो बाहेक फिचर फिल्म विधातर्फका उत्कृष्ट निर्देशक, लेखक, छायाँकार, अभिनेता र अभिनेत्रीलाई पनि ट्रफी प्रदान गरिनेछ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.