रिस्ता अभिनित हिन्दि गीतको भिडियो सार्वजनिक (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ:पछिल्लो समय इन्डियामा टिकटक हुँदै म्युजिक भिडियोमा पपुलर बनिरहेका मोडल मञ्जुल खट्टरसँग भिडियोमा नेपाली अभिनेत्री रिस्ता बस्नेत देखिएकी छिन् । गत फागुनमा नेपालको पोखराका विभिन्न मनोरम दृश्यमा छायाँकन गरिएको भिडियोलाई जी म्युजिकको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो । नेपाली प्राविधिक प्रयोग गरेर तयार गरिएको ’साथिया तेरे बिना’ गीतको भिडियोमा नेपालको सुन्दरता देख्न सकिन्छ । हिन्दी भाषाकै गीतको छायाँकनको लागि नेपाल आइपुग्दा मञ्जुल खुशी देखिन्थे ।

छायाँकन सकिएपछी नेपाल निकै सुन्दर रहेको प्रतिक्रिया मञ्जुलले दिएका थिए । नेपालको सुन्दरताको बारेमा सुनेका मञ्जुल यहिँ गीतको छायाँकनको लागि पहिलो पटक नेपाल आएका थिए । उनले सुन्दर भिडियो निर्माणका लागि नेपाली प्राविधिकलाई धन्यवाद दिएका छन् । टिकटकबाट चिनिएका मञ्जुल पछिल्लो समय म्युजिक भिडियोमा उत्तिकै व्यस्त छन् ।

गीतमा कार्तिक र ज्योतिकाको स्वर रहेको छ । सार्वजनिक गीतमा शब्द संजीव पाण्डेको रहेको छ भने संगीत पुनित पाण्डेले दिएका छन् । हिन्दी भाषाको गीतलाई टिकम शर्माले निर्माण गरेका हुन् भने यसलाई सम्राट शाक्यले निर्देशन गरेका छन् ।

चलचित्र ‘यात्रा’ मार्फत निर्देशनमा आएका सम्राटको यो पहिलो भिडियो निर्देशन हो । भिडियोमा पुरुषोत्तम प्रधानको छायांकन , कमल राईको नृत्य निर्देशन , अर्जुन जिसीको सम्पादन , रेनिश फागोको कलर करेक्सन , वसन्त घर्ति मगरको भीएफएफ्क्स , यादव पौडेलको प्रोडक्सन र सुरेश न्यौपाने सहायक निर्देशक रहेका छन् ।