लालबाबुको आत्मकथा ‘सिंहदरबार बदल्ने सङ्घर्ष ’ बजारमा


सेलिब्रेटी नेपाल काठमाडौँ
पहिलोपटक मन्त्री भएकै बेला आफ्ना अडान र कामहरुले चर्चित बन्न पुगेका लालबाबु पण्डितलाई अब थप विस्तारमा बुझ्न सकिने भएको छ । पब्लिकेशन नेपालयले तयार पारेको उनको आत्मकथा ‘सिंहदरबार बदल्ने सङ्घर्ष ’ बजारमा उपलब्ध भएको छ ।लालबाबु पण्डित नेकपा (एमाले) का नेता हुन् । उनी भूमिगतकालदेखि नै उक्त पार्टीसँग आवद्ध छन् । तर, केहि वर्षअघि मात्र पहिलोपटक मन्त्री हुनासाथ उनी दुइवटा कुराले एकाएक चर्चाका पात्र बने ।

पहिलो थियो ग्रीनकार्ड वा पिआरको आवेदन दिनेले राज्यका जिम्मेवार ओहदा ओगटेर बस्न नपाइने घोषणा । यसले विशेषगरि डिभीलगायत माध्यमबाट विकशित मुलुकको स्थायी बसोबासका निस्सा पनि लिने र नेपाल सरकारका उच्च ओहदामा पनि बसिरहने थुप्रै कर्मचारीलाई प्रभावित पारेको थियो । त्यसैले हत्तपत्त चर्चामा नआउने सामान्य प्रशासन मन्त्रालय सम्हालेका मन्त्री भइकन पनि लालबाबु त्यतिबेलाको मन्त्रीपरिषदकै सर्वाधिक चर्चित पात्र बन्न पुगेका थिए । सरल ब्यक्तित्व र सामान्य जीवनशैलीमा रमाउने लालबाबु पण्डितको रंग–ढंगले पनि धेरैलाई आकर्षित गरिदियो । साइकल वा ट्याम्पुमा यात्रागर्ने यी हँसमुख व्यक्तिका बारेमा थप जिज्ञासा जनसाधारणमा पैदा भयो ।

नेता मदन भण्डारीसँग भूमिगत कालमा साथै रहेर संगठनमा लागेका घटनादेखि पढाइ र पारिवारिक जीवनसम्मका भोगाइहरु कथाजस्तै भेटिए । यी सबैले लालबाबुमा संझौताहीन स्वभाव र राजनीतिक संघर्षबाट खारिएर तयार भएको ब्यक्तित्व अगाडि ल्याएको रहेछ ।

यसरी राजनीतिक जीवनलाई सत्ताको चरित्र बदल्ने संघर्षका रुपमा परिणत गरेका उनै लालबाबुका तिनै रोचक भोगाइहरु यस आत्मकथामा समेटिएको छ । पण्डितले युवा सञ्चारकर्मी मुकेश पोख्रेलसँगको सहकार्यमा पुस्तक तयार पारेका हुन् । पण्डितलाई समाज परिवर्तन र राष्ट्रप्रति समर्पित सबैखाले मानिसले यो पुस्तक पढ्नेछन् भन्ने विश्वास छ ।‘यो पुस्तकमार्फत मैले आफू स्वयंलाई कसीमा राखेको छु,’ पण्डितले थपे, ‘मैले राम्रो गरेँ वा नराम्रो भनेर छुट्याउने जिम्मा अब पाठकहरुकै हातमा छोड्छु ।’