कलाकार संघले पत्रकारद्वय कृष्ण भट्टराई र दीपेश राजथारूलाई सम्मान गर्ने


dipesh-raj-krishna
(सेलेब्रिटी नेपाल) १६ भाद्र-नेपाली कलाकारहरूको छाता संगठन नेपाल चलचित्र कलाकार संघले १२ औं साधारणसभाको अवसर पारेर चलचित्र पत्रकारद्वय कृष्ण भट्टराई र दीपेश राजथारूलाई सम्मान गर्ने भएको छ । संघको आगामी भदौ २९ गते राजधानीमा आयोजना हुने साधारणसभामा उनीहरूलाई ‘नेपाल चलचित्र कलाकार संघ पत्रकारिता सम्मान २०७०’ बाट सम्मान गर्न लागिएको हो । भट्टराई कान्तिपुर साप्ताहिकमा र थारू डीसीनेपालडटकममा आबद्ध छन् ।

चलचित्र कलाकार संघले वि.सं २०७० सालका लागि विभिन्न चलचित्रकर्मी हरुलाई  पनि सम्मान तथा पुरस्कृत गर्ने जनाएको छ । यो बर्षको नेपाल चलचित्र कलाकार संघ पुरस्कारबाट अभिनेता कृष्ण मल्ललाई ५१ हजार नगद राशी सहित पुरस्कृत गरिने छ । नेपाल चलचित्र कलाकार संघ शान्ती मास्के पुरस्कारबाट अभिनेत्री मिथिला शर्मालाई १५ हजार १ सहित पुरस्कृत गरिनेछ ।नेपाल चलचित्र कलाकार संघ विशेष सम्मानबाट नायक अर्जुन कार्की र नायिका निशा अधिकारी,नेपाल चलचित्र कलाकार संघ नव प्रतिभा सम्मानबाट विल्सन विक्रम राई, चलचित्र कलाकार संघ सेवा सम्मानबाट राजाराम पौडेल, शुशिल पोख्रेल र श्रीराम पुडासैनीलाई सम्मानित गरिने छ ।

अध्यक्ष खड्काले संघको गतवर्ष सम्पन्न निर्वाचनका बेला अध्यक्षको प्रत्यासीका रूपमा आफूले र कार्यसमितिका अन्य पदका सदस्यहरूले व्यक्त गरेको प्रतिबद्धतालाई एक वर्षसम्मको क्रियाकलापले केही हदसम्म पूरा गरेको बताए । उनको नेतृत्वमा निर्वाचित कार्यसमितिले एक वर्षमा कार्यालय व्यवस्थापन, वेभसाइट सञ्चालन, वनभोज कार्यक्रम, आन्दोलनका कार्यक्रम, मागपत्र तथा चलचित्र नीति मस्यौदा, बागमती सफाइ अभियान र फुटबल कार्यक्रम आयोजना, स्वास्थ्योपचार शिविर सञ्चालन, कलाकारको स्वास्थ्योपचार छुटको व्यवस्था, कलाकारका सन्तानलाई शैक्षिक छात्रवृत्तिको व्यवस्था, एम्बुलेन्स सेवा, कलाकार विमा र कलाकार कल्याणकोष, सहकारी स्थापना, पुरस्कार÷वितरण कार्यविधि निर्माण, क्यालेन्डर तथा स्मारिका प्रकाशन, चलचित्रसम्बन्धी पठनपाठन तथा पाठ्यक्रम निर्माणको पहल, कलाकारको सगरमाथा आरोहण अभियानमा सहयोग, व्यक्तिगत क्षमता अभिवृद्धि कार्यक्रम, चलचित्र संस्कृतिको विकास, कार्यविभाजन तथा विभिन्न समिति उपसमिति गठनलगायतका काम गरेको जनाएको छ ।