अस्ट्रेलियामा नै रहेर कलाकारितामा जम्दै भानु


सेलिब्रेटी नेपाल काठमाडौँ

भानु बराल कलाकारिता क्षेत्रमा सक्रीय नाम हो । रँगिन पर्दाको दुनियाँमा आफूलाई परिचित गराउने सुन्दर सपना बोकेर सन् २००४ बाट आफ्नो कला यात्राको सुरुवात गरे देखि अथक मेहनत र साधनाका साथ निरन्तर आफूलाई अब्बल बनाउँदै आएका बराल अहिले मोडलिंगमा व्यस्त छन् । पोखरा स्थायी घर भएका र हाल अस्ट्रेलियालाई कर्मथलो बनाएका उनले अभिनय क्षेत्रमा लागेको छोटो समयमा आधा दर्जन भन्दा बढि म्युजिक भिडियो ‘सहारा’ नामक एक सानो पर्दाको फिल्म र दुइ दर्जन भन्दा धेरै र्‍याम्प वाकमा उत्कृष्ट अभिनय पस्केर आम दर्शक र श्रोताको मन जित्न सफल भएका छन् । कडा, मेहनत र परिश्रम गर्दै यहाँ सम्म आइपुगेका उनले चर्चित गायक कर्णदासको ‘बोझ नहोस मेरो जीवन’ बोलको गीतको म्युजिक भिडियोको सफल निर्देशन गरेर निर्देशकको सुचीमा समेत आफ्नो नाम लेखाउन सफल भएका छन् ।

आकर्षक ज्यान र व्यक्तित्वले सज्जित उनमा जस्तोसुकै भूमिकामा पनि अभिनय गर्न सक्ने अद्भुत कला छ । उनका सबै प्रस्तुतिहरूमा वास्तविक जीवनमा मेल खाने खालका जीवन्त अभिनयको अनुभूति मिल्छ । आफ्नो तिख्खर प्रस्तुति पस्कने क्रममा हालसालै शशांक कंडेलको ‘जाने भए जाउ’ गीतमा उनले अभिनय गरेको नयाँ म्युजिक भिडिओ रिलिज भएको छ । रिलिज हुने क्रममा रहेको एक हलिवुडको चलचित्रमा पनि उनले सहायक अभिनेताको भूमिका निर्वाह गरेका छन् । जुन उनको कलाकारिताको करिएरमै कोसेढुंगा साबित हुन सक्छ । त्यस्तै चर्चित टिभी च्यानल SBS मा प्रसारण हुने एक डकुमेन्ट्रीमा शरणार्थीको सशक्त रोलमा पनि उनलाई देख्न सकिन्छ । प्रवासी भूमि अस्ट्रेलियाको ब्रिसबेनमा पूर्णकालीन पेशा, पारिवारिक जीवनको कार्य व्यस्तताको बाबजुत समाज सेवामा पनि सक्रिय उनी विभिन्न कार्यक्रम तथा सार्वजनिक समारोहमा उतिकै समय दिन भ्याएका छन् । अभिनयको साथै फोटोग्राफी र खेलकुद क्षेत्रमा समेत सक्रिय भानुलाई साथीभाई, आफन्तको प्रेरणा र घर परिवारको गतिलो साथको कारण निरन्तर सफलताका खुट्किलोहरू पार गर्ने अवसर मिलेको छ । अविरल संघर्षका साथ आफ्नो कलालाई थप निखर र सशक्त पार्दै गएका भानु अहिले सम्म प्राप्त सफलताबाट सन्तुष्ट छन् र यसले भविष्यमा अझ सक्रियताका साथ लाग्ने प्रेरणा र ऊर्जा मिलेको बताउँछन् ।