सञ्चारकर्मी गीताको तीज गीत ‘बजाउँदै चुरा’ सार्वजनिक



सेलिब्रेटी नेपाल। हिन्दु नारीहरुको महान पर्व तीज नजिकिदै जादा तीज सम्बन्धि गीतहरु सार्वजनिक भइरहेका छन् । यही मेसोमा गत तीन वर्षदेखि लगातार तीजका गीत स्रोता/दर्शकमाझ पस्किदै आएकी सञ्चारकर्मी गीता अधिकारीले ‘बजाउँदै चुरा’ लिएर आएकी छन् ।

सारिका घिमिरेको स्वरमा रहेको सार्वजनिक तीज गीत ‘बजाउँदै चुरा…’मा योगेश काजीको संगीत तथा एरेञ्ज रहेको छ । सार्वजनिक लिरिकल भिडियोलाई विक्रम आदित्य शाहले सम्पादन गरेका छन् । गीता र सारिकाले यसभन्दा अघि ‘यतै घमाइलो उतै घमाइलो…’सन्देश मुलक तीज गीत लिएर आएका थिए भने गत वर्ष ‘तीजैमा ब्रत बसी…’ लिएर आएका थिए ।

कोरोना भाइरस (कोभिड-१९)को सङ्क्रमणका कारण गीतको भिडियो छायाँकन गर्न असमर्थ भएका कारण लिरिकल भिडियो सार्वजनिक गरेको गीता/सारिकाले बताए । यसभन्दा अघि सार्वजनिक गीत जस्तै ‘बजाउँदै चुरा…’ले पनि सबैको माया र साथ पाउने आफूहरुले अपेक्षा लिएको उनीहरुले बताए । गीतको भिडियो युट्युव च्यानल द ट्युन मार्फत सार्वजनिक गरिएको छ ।