नातिकाजी श्रेष्ठ


  • नातिकाजी श्रेष्ठ गायक,संगीतकार
  • जन्म- १९८२ साल पुस
  • जन्मस्थान-पुल्चोक,ललितपुर
  • पिता- मोहनलाल श्रेष्ठ
  • माता-चम्पादेवी श्रेष्ठ
  • शिक्षा-सङ्गीतमा स्नातक
  • गुरु -तुयुनारायण श्रेष्ठ
  • मृत्यु -२०६० साल कात्तिक १६ गते
  • पेशा-संगीतकार,रचनाकार,गायक

ढल्के टोपी नलाउनू दाइ मेरो मनमा कुतकुती लाग्दछ

एकोहोरो नहिँड लौ न मनको कुरो मनमै अड्कन्छ।

नातिकाजीले आफ्नो जीवनको सम्पूर्ण भाग नेपाली सङ्गीतको आराधनामा समर्पित गरे । यिनका सङ्गीतमा पाइने दुःखात्मक, सुखात्मक र राष्ट्रनिर्माणमा जुर्मुराउने उत्साहपूर्णलयले गर्दा उनी अमर छन् । वास्तवमा उनको त्यो कलात्मक व्यक्तित्वले उनी नेपाली सङ्गीतका ज्योति भए । गाउँपाखा, सहरबजार सबै तिरका नेपाली अझै पनि बोल्छन् – “नातिकाजी नै रेडियो नेपाल हो र रेडियो नेपाल नै नातिकाजी हुन् ।” वास्तवमा त्यति बेला नातिकाजीले यसबारेको एउटा ठूलो फाँट नै स्थापना गरेका थिए । त्यसैले उनलाई नेपाली साङ्गीतिक क्षेत्रका सङ्गीतशिरोभूषण भनियो । कर्मको गुण, परिमाण र योगदानको मर्मलाई समेट्न उनका लागि यो उपमा पनि थोरै हुन्छ भने उनी नेपाली सङ्गीतका शङ्कराचार्य हुन् ।
नातिकाजीका त्यस बेलादेखिका सङ्गीतका सम्पूर्ण सङ्ग्रहहरू हेर्ने हो भने यिनका दुई हजारभन्दा बढी साङ्गीतिक धूनहरू रेडियो नेपालमा रहेका छन् । यिनले युवावस्थामा गीत पनि गाएका थिए । त्यसबेला गाएका यिनका दुई सयवटा गीतहरू रेडियो नेपालमा सुरक्षति छन् । त्यति मात्र होइन यिनका बाईसवटा अपेराहरू रेडियो नेपालमा सुरक्षित छन् । यिनले आफैले गीत पनि लेखे । यिनले जम्मा सातवटा गीतहरू लेखे । मान्छेले गीत सुन्ने इच्छा मात्रै गर्छ भने पनि यिनको स्वर, सङ्गीत र रचनालाई मन नपराउने मान्छे नै हुँदैन; किनभने यिनी गाउँदा, लेख्ता र सङ्गीत भर्दा नेपाली मुटुको ढुकढुकीबाट प्रस्तुत गर्ने गर्थे नातिकाजीले सङ्गीतकै सिलसिलामा नेपालका विभिन्न भूभाग डुले । नेपालीहरूका घरआँगनमा गएर गीत गाउने, सङ्गीत पोख्ने र रचना गर्ने नातिकाजी सरल जीवन र उच्च विचारका कुबेर थिए । उनको सरलताको अझै धेरैले तारिफ गरे, उनको व्यवहारको थुप्रैले पाठ सिके र उनको महानताको कदर गर्ने मान्छे पनि त्यत्ति नै भेटिए।

पुरस्कार तथा सम्मान

विभिन्न विभूषणबाट विभूषित नातिकाजीले जीवनभरि सङ्गीतमा समर्पित भएवापत गोर्खा दक्षिण बाहु प्रथम,इन्द्रराज्यलक्ष्मी प्रज्ञापुरस्कार, छिन्नलता पुरस्कार, भूपाल सङ्गीत पुरस्कार र नइ सुरसम्मान प्राप्त गरे । यिनले नेपालका विभिन्न साङ्गीतिक, साहित्यिक र सामाजिक सङ्घसंस्थाबाट अरू पनि पुरस्कार, सम्मान र अभिनन्दन पाए । साथै उनको जीवनकालमा नइद्वारा सम्पादित ‘सङ्गीत शिरोभूषण नातिकाजी’ नामक ग्रन्थ पनि प्रकाशनमा आयको छ  ।

http://youtu.be/ONxflWndbl8