‘भ्वाईस अफ नेपाल सिजन २’ मा राजु र आस्थाको इन्ट्री


सेलिब्रेटी नेपाल

काठमाडौँ: गायन रियालिटी शो ‘द भ्वाईस अफ नेपाल’को दोस्रो सिजनको लागि नयाँ कोच सार्वजनिक गरिएको छ । राजधानीमा आयोजित पत्रकार सम्मेलनमा दुई जना नयाँ कोचलाई मिडिया सामु चिनाइयो ।

यसपटकको सिजनमा वरिष्ठ गायक दीप श्रेष्ठ र प्रमोद खरेल यथावत रहनेछन । भने, सनुप पौडेल र अभया सुब्बा आउट भएका छन् । उनिहरुको ठाउँमा गायक राजु लामा र गायिका आस्था राउतलाई इन गरिएको छ ।

मँगोलियन हार्टको रुपमा परिचित राजु केहि समयदेखि अमेरिकामा बस्दै आइरहेका छन् । ४० वर्ष उमेरका उनि यस कार्यक्रमको लागि नेपाल आएका छन् । २५ औँ वर्षको सांगीतिक यात्रा पार गरिसकेका लामाले गीतिसँग्रह ‘सोलुसन’बाट गायनको थालनी गरेका थिए । दोश्रो गीतिसँग्रह ‘तिमीलाई देखेर हिमाल हाँसेको‘ले लामामा लोकप्रिय मात्र बनाएन, उनलाई स्थापित नै बनाइदियो । उनले व्याण्डसँग मिलेर १० भन्दा बढी गीतिसंग्रह श्रोता माझ ल्याइसकेका छन् ।

त्यस्तै आस्था राउत विगत एक दशकदेखि सांगीतिक दुनियाँमा भिजिरहेकी छन् । उनले एक दशक अघि ‘सालको पात टपरी गाँसेर‘ गीतको रिमिक्स भर्सन मार्फत गायन यात्रा सुरु गरेकी थिइन् ।

भ्वाईसको टाइटल स्पोन्सरको रुपमा युनाइटेड सिमेन्टले हात बढाएको छ । लक्ष्मण पौडेलले निर्देशन गर्ने शो यसपटक हिमालयन एचडीबाट शुक्रबार र शनिबार बेलुका ८ बजे प्रशारण हुनेछ । साउन पहिलो सातादेखि प्रशारण हुने शोमा झन्डै २३ हजार प्रतिभाले डिजिटल अडिसनमा सहभागिता जनाएका थिए । जसबाट ब्लाइन्ड अडिसनको लागि सय भन्दा बढी प्रतिभा छनोट भएको आयोजकले बताइएको छ । शोको ब्लाइन्ड अडिसन आगामी बुधबारबाट छायाँकन हुनेछ ।