राष्ट्रिय झण्डा जलाउने गायक तामाङ पुर्पक्षका लागि थुनामा



काठमाडौं । राष्ट्रिय झण्डा जलाएर म्युजिक भिडियो बनाएको आरोपमा पक्राउ परेका गायक ग्याल्जेन दोर्जे तामाङलाई पुर्पक्षका लागि थुनामा पठाइएको छ । सोमबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश विनोदकुमार पोखरेलको इजलासले तामाङलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो । सोही आरोपमा मुछिएका ३ जना भने १५ हजार धरौटीमा छुटेका छन् भने ५ जना साधारण तारिखमा छुटेका छन् । उनीहरुविरुद्ध भदौ २४ गते काठमाडौं जिल्ला अदालतमा मुद्धा दर्ता गरिएको थियो ।

ग्याल्जेनलाई प्रहरीले स्वयम्भूको भगवान पाउबाट पक्राउ गरेको थियो । ग्याल्जेन तितुङ मंगोलिनय ग्रुपका सदस्य समेत हुन् । मकवानपुरमा सुट गरिएको सो म्यूजिक भिडियो ‘मंगोल हप अफिसियल’ नामक युट्युव च्यानलबाट अपलोड गरिएको थियो । भिडियोमा क्षेत्री, बाहुन समुदायलाई अश्लिल गाली गरिएको छ ।