एक्ला गायकको मृत्यु चाँडै


बीएमजे (ब्रिटिश मेडिकल जर्नल) मा हालै प्रकाशित रिपोर्ट अनुसार एक्ला सफल गायकहरुमा एक्लो हुनुको तनाव रहन्छ भने ब्याण्ड गायकहरु समूहमा रहँदा त्यस्तो तनाव झेल्नु पर्दैन । युरोप र उत्तर अमेरिकाका १४ सय रक र पप स्टारको करिअरको अध्ययनपछि बीएमजेले यो तथ्य प्रकाशित गरेको हो । यी सबै कलाकारहरु सन् १९५६ देखि २००६ सम्म विश्वमै चर्चित मध्येका हुन् ।

यस अध्ययनमा प्रत्येक दशमध्ये एक कलाकार जसको चाँडै मृत्यु भएको देखाइएको छ, ती सबै सफल र चर्चित थिए । अध्ययनले उत्तर अमेरिकामा प्रत्येक पाँचमध्ये एकजना एक्लो कलाकारको छिट्टै मृत्यु हुने गरेको देखाएको छ । गत फेब्रुअरी महिनामा पूरा भएको अध्ययनमा १३७ जना सफल कलाकार कम उमेरमै मरेको पाइयो । यो सूचीमा माइकल ज्याक्सन, एल्भिस, जिमी ह्याण्ड्रिक्स, र्‍यापर टु प्याक, एमी वाइनहाउस र ह्विट्नी हस्टनको नाम पनि सामेल छ । अध्ययनमा कम उमेरमा मर्ने कलाकारहरुको औषत आयु ३९ वर्ष मात्रै छ ।