कहाँ अड्कियो शिव श्रेष्ठको ‘एउटा यस्तो प्रेम कहानी’ ?


सेलिब्रेटी नेपाल

काठमाडौँ: शिव श्रेष्ठले निर्माण गरेको चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’ पोष्ट प्रोडक्शनमै अल्झिएको छ । एक बर्ष अघि पत्रकार सम्मेलन गरेर चलचित्रको ट्रेलर समेत सार्बजनिक गरिएको थियो । अभिनेत्री करिश्मा मानन्धरकी छोरी कविता मानन्धर र अभिनेता शिव श्रेष्ठका छोरा शक्ति श्रेष्ठको मुख्य भूमिका रहेको चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’ पोष्ट प्रोडक्शनमै अल्झिएको लामो समय भयो । यो चलचित्रबाट नै करिश्माकी छोरी कविताले चलचित्र क्षेत्रमा डेब्यू गर्ने तयारी गरेकी छिन् । तर, चलचित्रको काम नै अगाडि बढ्न नसक्दा कविताको डेब्यू चलचित्र नै रिलिज नहुने हो कि भन्ने अन्यौलता समेत छ ।

यो चलचित्रलाई दिपेश सापकोटाले निर्देशन गरेका हुन् । दिपेशका अनुसार, चलचित्रको छायांकन सकिएको छ । चलचित्रमा प्रियंका कार्की, वर्षा राउत, आयुष्मान देशराज जोशी, संजोग कोइराला, नायिका करिश्मा मानन्धर, नायक शिव श्रेष्ठ, शिवका छोरा शक्ति श्रेष्ठको पनि मुख्य भूमिका छ । यती धेरै कलाकारले काम गरेको चलचित्रमा राम्रै लगानी समेत भैसकेको छ । चलचित्रमा शक्ति र कविता जोडीको रुपमा देखिदैछन् । वुझिएअनुसार, चलचित्रको पहिलो भागमा कविता र शक्ति हाबी छन् । तर, चलचित्रलाई भने नायिका प्रियंका कार्कीले बोकेकी छिन् ।

नायिका करिश्मा मानन्धरले चलचित्र निर्देशन गरेर कवितालाई मुख्य नायिकाको रुपमा काम गराउने भन्ने चर्चा पनि सेलाएको छ । यता, कविताले काम गरेको चलचित्र पनि पोष्ट प्रोडक्शनमै अल्झिएको छ । यस्तो अवस्थामा, कविताको चलचित्र दर्शकले कहिले हेर्न पाउने हुन् भन्ने प्रश्न समेत उब्जिएको छ । शिव श्रेष्ठ,दिनेश दर्शनधारी,यशोदा राइ,सुनिल कटुवाल,राम नारायण शाह दिनेश थापा,सुजन गौतम,खुम तामाङ,तारा तुलाधर निर्माता रहेको चलचित्र लगानीको कारण अल्झियो भन्न सकिन्न तर किन अल्झियो अन्योल छ।