रमेश विजीको लकडाउन दैनिकी : दोहोरी कलाकारको चित्कार सुन्दैमा बित्छ


काठमाडौं। रमेश विजीलाई दिनहूँ दर्जनौं फोन कल आउँछन्। लौन हजुर सहयोग चाहियो, दाल चामल सकियो, बिहान साँझ छाक टार्नै समस्या भो।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका अध्यक्ष हुन् उनी। त्यसैले लोक दोहोरी क्षेत्रका कलाकारहरु उनीसंग समस्या सुनाउँछन्। भन्छन्, –‘काठमाडौं दोहोरी साँझमा गाउने भाई बैनीहरु बढी समस्यामा छन्। घर जान नपाएको र भएको खाद्यान पनि सकिएकोले सहयोग चाहियो भनेर फोन गर्छन्।’

उनलाई चिन्ता छ, उनीहरुलाई समस्यामा कसरी टिकाउने। तर, उनी आफै काठमाडौं बाहिर छन्। पोखरामा चलचित्र ‘परदेशी २’को छायांकन हुँदै थियो। ‘परदेशी २’मा विजीको कथा छ। चलचित्रको छायांकन आफ्नै रफ्तारमा चलिरहेको थियो। देशमा कोरोना भाइरस संक्रमणको जोखिम बढ्दै गएकोले छायाँकन गर्ने अवस्था रहेन्। निर्देशक नारायण रायमाझीसहितको टिम काठमाडौं फर्किए। चलचित्रका अभिनेता गायक प्रकाश सपूत घर वागलुङतर्फ लागे। विजी पोखरामा आफन्तकोमा रहे। यद्यपी, पोखरा रहेपनि उनी समस्यामा परेको कलाकारहरुलाई सहयोग जुटाउने काममा निरन्तर समन्वय गरिरहे।

अहिले काठमाडौंमा समस्यामा परेका कलाकारहरुलाई सहयोग वितरणको काम भईरहेको छ। प्रतिष्ठानले रीता थापा मगरको संयोजकत्वमा कोभिड –१९ सहयोग समिति गठन गरेको छ। समितिले समस्यामा परेका कलाकारहरुलाई दिनरात नभनी सहयोग गरिरहेको छ।

प्रतिष्ठानको समन्वयमा समस्यामा परेका झण्डै ४ सय कलाकारहरुलाई राहत वितरण गरिएको छ। उनका अनुसार लकडाउन लम्बिदै जाने हो भने समस्यामा परेका कलाकारहरुलाई काठमाडौंमा टिकाउनै मुश्किल पर्छ। उनीहरु पनि भनिरहेका छन्, घर जाने वातावरण मिलाइदिनुस्। प्रतिष्ठानले कलाकारहरुको ¥यापिट टेष्ट गर्ने र नेगेटिभ भएकालाई क्लिनचिट दिँदै गाउँ पठाउन सम्बन्धित निकायसंग माग गरेको छ।

कोरोना संक्रमणले हरेक क्षेत्रमा असर गरेको छ। यसले संगीत क्षेत्रमा पनि ठूलो असर गरेको छ। अबको एक, दुई वर्ष देश विदेशमा सांगीतिक कार्यक्रम हुँदैनन्। यसले स्टेज कार्यक्रममार्फत जीविको पार्जन गर्नेहरुलाई बढी असर गर्नेछ। ‘भोलि के गर्ने भन्नेमै सबै कलाकारहरुको चिन्ता छ’ –विजी चिन्तन सुनाउँछन्।