पूजा शर्माका फिल्म : कति हिट, कति फ्लप ?


काठमाडौं। नेपाली फिल्म क्षेत्रमा पछिल्लो समयका चर्चितमध्येकी एक अभिनेत्री हुन्, पूजा शर्मा। उनले ८ वर्षअघि २०६९ सालमा प्रदर्शनमा आएको ‘थ्रि लभर्स’बाट फिल्म क्षेत्रमा पाईला टेकेकी हुन्। तर, डेब्यू फिल्मले त पूजालाई दर्शकमाझ चिनाएन नै त्यसपछिका केही फिल्म पनि लगातार फ्लप भए।

२०७० सालमा प्रदर्शनमा आएको पूजा अभिनित ‘मधुमास’ पनि राम्रो चलेन्। यसमा पूजा अभिनेता आर्यन सिग्देलको अपोजिटमा देखिएकी थिइन्। ‘मधुमास’पछिका फिल्मले पनि पूजालाई सोँचेजस्तो चर्चा दिलाउन सकेनन्। फिल्म असफल भएपनि पूजाले काम भने पाईरहेकी थिइन्। ‘थ्रि लभर्स’, ‘मधुमास’ जस्तै त्यसपछिका फिल्म ‘अझै पनि’, ‘चंखे शंखे पंखे’ बक्स अफिसमा हिट सावित हुन सकेन। स्वर्गीय आलोक नेम्वाङ निर्देशित फिल्म ‘अझै पनि’ २०७१ सालमा प्रदर्शनमा आएको थियो भने सन्तोष सेन निर्माता, सुदर्शन थापा निर्देशक रहेको ‘चंखे शंखे पंखे’ २०७२ सालमा प्रदर्शनमा आएको थियो।

त्ययपछि २०७२ सालकै अन्त्यतिर प्रदर्शनमा आएको फिल्मले भने पूजालाई एकाएक चर्चामा ल्याएको थियो। फिल्म थियो, ‘प्रेमगीत’। फिल्ममा पूजाको अपोजिटमा नायक प्रदीप खड्का थिए। यी दुईको केमेस्ट्रि दर्शकले अत्यन्तै रुचाए। फिल्म हिट भयो। सन्तोष सेन निर्माता, सुदर्शन थापा निर्देशक रहेको फिल्मबाट पूजा र प्रदीप दुवै दर्शकमाझ लोकप्रिय बने।

शुरुवातका केही फिल्म फ्लप भएपछि ‘प्रेम गीत’बाट लोभलाग्दो सफलताको स्वाद चाखेकी पूजाको त्यसपछिको ‘म यस्तो गीत गाउँछु’ फिल्मलाई पनि दर्शकले रुचाए। सुदर्शन थापा निर्देशित २०७४ सालमा प्रदर्शनमा आएको फिल्ममा पूजाको पल शाहसंग जोडी बाधिएको छ। दर्शकले फिल्म रुचाएपछि अहिले ‘म यस्तो गीत गाउँछु २’ निर्माण भएको छ। जुन फिल्म कोरोनाका कारण प्रदर्शन हुन सकेको छैन्।
‘म यस्तो गीत गाउँछु’पछि पूजाको २०७५ सालमा ‘रामकहानी’ प्रदर्शनमा आयो। मल्टिस्टारर कलाकार रहेको ‘रामकहानी’ले भने अपेक्षित व्यापार गर्न सकेन्।

पूजा अभिनित प्रदर्शनमा आएको पछिल्लो फिल्म ‘पोइ पर्यो काले’ हो। यो फिल्म गतवर्ष प्रदर्शनमा आएको थियो। तर, यो फिल्मले पनि नाफाको व्यापार गर्न सकेन्।

पूजाको कोरोनाका कारण प्रदर्र्शन स्थगित ‘म यस्तो गीत गाउँछु २’ कहिले प्रदर्शनमा आउने निश्चित छैन। त्यसबाहेक पूजाले ‘सम्हालिन्छ कहिले मन’, ‘सम्झना विर्सना’को छायाँकन सकाएकी छिन् भने ‘मन परेसी’ नामक फिल्म साइन गरेकी छिन्। यी अभिनेत्री पछिल्लो समय विवादमा समेत मुछिएकी थिइन्।