‘पाताल लोक’ मा नेपालीलाई अपमान गरेको भन्दै अनुष्का शर्मालाई ‘लिगल नोटिस’

सेलिब्रेटी नेपाल

काठमाडौँ:अनुष्का शर्माद्वारा निर्मित वेब सिरिज ‘पाताल लोक’मा नेपाली महिलालाई आपत्तिजनक शब्द प्रयोग गरेको भन्दै कानुनी पत्र (लिगल नोटिस) पठाइएको छ ।

कुनै निश्चित समुदायमाथि प्रयोग गरिएको गालीकै कारण गत सोमबार अनुष्कालाई कानुनी पत्र पठाइएको जुमटिभी इन्टरटेन्टमेन्टमा उल्लेख गरेको छ । कोभिड–१९ को संकटबीच निःशुल्क कानुनी सल्लाह प्रदान गर्न गठन गरिएको लयर्स गिल्डका सदस्य विरेन श्री गुरुङले अनुष्कालाई उक्त नोटिस पठाएका हुन् ।

गुरुङले सिरिजको दोस्रो श्रृङ्खलामा प्रयोग गरिएको शब्दले सम्पूर्ण नेपाली समुदायको अपमान गरेको बताएका छन् । ‘त्यहाँ एउटा दृश्य छ, जहाँ महिला प्रहरीले नेपाली पात्रलाई केरकार गर्ने क्रममा जातिवादी गाली प्रयोग गर्छिन् । जुन सिरिजको दोस्रो शृङ्खलामा देखाइएको छ, त्यो पूरा नेपाली समुदायको लागि अपमानजनक छ,’ गुरुङले द क्विन्टसँग भनेका छन्, ‘नेपाली शब्द प्रयोग नभएको भए केही समस्या हुुन्थेन । तर त्यस्तो अस्वीकार्य शब्द त्यहाँ प्रयोग गरिएको छ । त्यसैले सिरिजकी निर्मात्री अनुष्का शर्मालाई हामीले नोटिस पठाएका हौं ।’

गुरुङले अनुष्काले उक्त पत्रको जवाफ दिनुपर्ने बताउँदै यसो नभएमा ओटीटी प्लेटफर्म र यसमा संलग्नविरुद्ध पनि कानुनी लडाइँमा जाने बताएका छन् ।

यस्तै, अरुणाञ्‍चलको गोर्खा समाजले पनि यो श्रृखंलाले गोर्खा समुदायको अपमान गरेको भन्दै भारतको मानवअधिकार आयोगमा उजुरी दिएको छ । गोर्खा एसोसियसन इन अरुणाञ्चलले निर्मात्री अनुष्का शर्माले माफी माग्नुपर्ने भन्दै यो श्रृखंलाकाे प्रसारण बन्द गराउन माग गरेको छ । अमाजोन प्राइम भिडियोको ‘पाताल लोक’मा जयदीप अहलावत, गुल पनाग, नीरज काबी, अभिषेक बनर्जी र स्वस्तिका मुखर्जीको मुख्य भूमिका छ ।
इकान्तिपुरबाट जस्ताको तेस्तै

 

सूचना बिभाग दर्ता नम्बर ५३७ - २०७३ / ०७४ सेलिब्रिटी नेपाल डट कम का लागी, संचालक/प्रकाशक : कल्पना सापकोटा, सम्पादक : आनन्द अधिकारी, सम्बाददाता : रघुनाथ सापकोटा, सम्पर्क : ९८५१०७१८७३