पाल्पाली सेलिब्रेटीहरुको एकसाथ जमघट हुने


सेलिब्रेटी नेपाल

काठमाडौं: पाल्पा जिल्लामा जन्मिएर विभिन्न क्षेत्रमा आफूलाई चिनाएका व्यक्तिहरुको जमघट हुने भएको छ। पाल्पाको बगनासकाली गाउँपालिका दर्लमडाँडामा आउँदो शनिबार जमघट हुने भएको हो।

नेपाल भ्रमण वर्ष २०२० को उपलक्ष्यमा ‘प्रथम दर्लम पर्यटन तथा साँस्कृतिक महोत्सव’ले पाल्पामा जन्मिएर विभिन्न क्षेत्रमा आफूलाई चिनाउने व्यक्तित्वहरुलाई एकैस्थानमा भेला गराउन लागेको हो। कार्यक्रम संयोजककका रुपमा लोक–गायक नविन पौडेल रहेका छन्। यो पौडेलको जन्मथलो हो। संयोजक पौडेलले कार्यक्रमको तिव्र तयारी भईरहेको बताउँदै डिसी नेपालसंग भने, ‘यो फाइदाका लागि गरिएको कार्यक्रम होइन। मात्र पाल्पामा जन्मिएर राष्ट्रिय, अन्तराष्ट्रिय स्तरमा चर्चा कमाउने व्यक्तित्वहरुको भेला हो।’

उनले महोत्सवमा आएका अतिथिहरुलाई गाउँपालिकाको वस्तुस्थिति, भौगोलिक अवस्था, संस्कति, पर्यटकीय स्थानहरु देखाईने बताए। महोत्सवको प्रमुख अतिथिका रुपमा पूर्व प्रधानन्यायाधीश एवं मन्त्री परिषदका पूर्व अध्यक्ष खिलराज रेग्मी रहने छन्। कार्यक्रममा पाल्पाका दुई जना संघीय सभाका सांसद सोम प्रसाद पाण्डे र दल बहादुर राना त्यस्तै प्रदेशसभाका सांसदहरुको समेत उपस्थिति रहने आयोजकले जनाएको छ।

पाल्पामै जन्मिएर देशलाई ठूलो योगदान दिने डा.भगवान कोइराला, गभर्नर डा.चिरञ्जीवी नेपाल, पुनर्निर्माण प्राधिकरणका सिइओ सुशील ज्ञवाली, नेपाल प्रहरी राष्ट्रिय अनुसन्धानका प्रमुख गणेश अधिकारी, पूर्व प्रहरी महानिरीक्षक कुबेरसिं राना, गण्डकी प्रदेशका मुख्य सचिव हरिप्रसाद बस्याल, गन्डकी प्रदेशकै मुख्य न्यायाधीश यज्ञ प्रसाद बस्याल, नेपाल सरकारका सह–सचिव अणप्रसाद न्यौपानेको उपस्थिति रहनेछ।

त्यस्तै पाल्पामा जन्मिएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ख्याति कमाउन सफल महानायक राजेश हमाल, चर्चित गायक–गायिका नारायण रायमाझी, दुर्गा रायमाझी, इन्द्र जिसी, लक्ष्मी न्यौपाने, बद्री पङ्गेनी लगायतको महोत्सवमा उपस्थिती रहने आयोजकको भनाई छ। राष्ट्रिय-अन्तराष्ट्र्रिय स्तरमा ख्याती कमाउने व्यक्तित्वहरुका साथमा स्थानीय कलाकारहरुलाई समेत कार्यक्रममा सम्मान गरिनेछ।

बगनासकाली गाउँपालिका र बगनासकाली सरोकार केन्द्रको आयोजनामा कार्यक्रम हुन लागेको हो। कलाकार मञ्च नेपाल सह–आयोजक रहेको महोत्सवको सहयोगीमा पाल्पाका दुई नगरपालिकासहित ८ वटै स्थानीय तह रहेका छन्। प्रवेश निशुल्क राखिएको कार्यक्रमका लागि विभिन्न व्यक्ति तथा संस्थाबाट समेत सहयोग छ।