निफको तेस्रो संस्करण हुँदै,८० चलचित्र देखाइने


सेलिब्रेटी नेपाल

काठमाडौँ : नेपाल फिल्म एण्ड कल्चर एकेडेमीको आयोजनामा हुँदै आइरहेको नेपाल इन्टरनेशनल फिल्म फेस्टिभलको तेस्रो संस्करण आउँदो फागुन १ देखि ५ सम्म हुने भएको । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फेस्टिभलको बारेमा जानकारी गराइयो । शहरी विकास राज्य मन्त्री रामवीर मानन्धरको प्रमुख आथित्यतामा भएको कार्यक्रममा वरिष्ठ अभिनेता नीर शाह , वरिष्ठ चलचित्रकर्मी नीर शाह , चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी , माननीय सांसद तथा गायिका कोमल ओली , कलाकार संघका अध्यक्ष रवीन्द्र खड्का , निर्देशक समाजकी अध्यक्ष रक्षा सिंह राणा सहित चलचित्रकर्मीको उपस्थिति रहेको थियो ।

फेस्टिभलका अध्यक्ष केपी पाठकले आफुहरुले नेपाली चलचित्रसंगै विदेशी चलचित्रकर्मीलाई एक साथ ल्याउने बताए । उनले यसपटक नेपाली चलचित्र कर्मीका लागि डिजिटल मार्केटको सम्भाव्यतालाई मनन गर्दै नेटफ्लिक्स प्रतिनिधि समेत आउने बताए ।

बलिउडका प्रख्यात लेखक तथा निर्देशक प्रकाश झा यसै फेस्टिभलमा सहभागी हुन् नेपाल आउने भएका छन् । बलिउडमा प्याट्रोटिक फिल्म बनाउने निर्देशकमा पर्ने झाले वृतचित्र , छोटा फिल्म पनि निर्माण तथा निर्देशन गरेका छन् । ‘विश्वका कथाहरुको कथ्य उत्सव’ भन्ने नारा सहित आयोजना हुने फेस्टिभलमा कथानक फिल्मको निर्णायक मण्डलको नेतृत्व झाले गर्नेछन् । फेस्टिभलमा ४० देशका ८० फिल्म देखाइनेछ । दर्ता आह्वान गरिएकोमा ५५ देशको ६०० फिल्मले आवेदन दिएको समेत आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।