पहिलो मुस्लिम हिरोइनको दशैं शुभकामना



काठमाडौं। नेपालकै पहिलो मुस्लिम हिरोइनका रुपमा परिचित सानीया खानले हिन्दू धर्मावलम्बीको महान पर्व बडा दशैको समस्त नेपालीमा शुभकामना ब्यक्त गरेकी छिन् । आफू मुस्लिम समुदायकी भए तापनि हिन्दू धर्म र संस्कारप्रति अगाढ स्नेह र श्रद्धा रहेकाले सम्पूर्ण नेपालीलाई दशैको शुभकामना ब्यक्त गरेको उनी बताउछिन् ।

‘म सबै धर्म र संस्कारप्रति उत्तिकै सम्मान ब्यक्त गर्दछु,’ सानीया भन्छिन्, ‘आफूले नमनाउने भए तापनि मलाई हिन्दू चाडपर्व निकै रमाइलो लाग्छ । त्यसैले सबै नेपालीमा बडादशैको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्न गर्दछु ।’ अहिले देशमा कतिपयले जातीय तथा धार्मीक आस्थाका आधारमा नेपाली–नेपालीमा बिभेद र बिभाजन ल्याउने प्रयास गरिरहेका छन् । त्यसमा भने आफूलाई निकै दुख लाग्ने गरेको सानीया बताउँछिन् । ‘मानिस हामी सबै एउटै हौं । तर यहाँ जात या धर्मको नाममा बिभेद गर्न खोजिन्छ, खोजिएको छ । जो बिल्कुलै गलत छ,’ उनी भन्छिन् ‘म मुस्लिम भए पनि मेरा धेरै साथीहरु हिन्दू हुनुहुन्छ । हामी सँधै सँगै रमाउछौ । धर्मको कारणले कहिल्यै कुनै कुरामा मतभेद भएको छैन । हामीबीच सँधै सद्भाव कायम छ ।’

दशै,तिहार जस्ता चाडपर्वले सबै धर्म, समुदायमा भाइचारा सम्बन्ध स्थापीत गरिरहेकाले सबैले उल्लासका साथ मनाउनु पर्ने धारणा उनको छ । आधा दर्जन बढी म्युजीक भिडियोमा समेत अभिनय गरेकी उनी तिहार पनि नयाँ प्रोजेक्टमा ब्यस्त हुने बताउँछिन् ।