‘मिस्टर भर्जिन’ टिम चितवनमा


सेलिब्रेटी नेपाल काठमाडौँ
भाद्र १ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘मिस्टर भर्जिन’ मोफसल प्रचार प्रसारको क्रममा चितवन पुगेको छ । पोखराबाट सुरु गरेको मोफसल यात्रा बुटवल हुदै चितवन पुगेको हो । चलचित्रको कलाकार र निर्माण पक्ष सहित चितवन आएको टोलीले चितवनमा बुधबार पत्रकार सम्मेलन गरेको छ।

चलचित्र बारे जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा बोल्दै अभिनेता गौरब पहाडीले ‘मिस्टर भर्जिन’ एउटा यौन मनोबिज्ञानमा आधारित चलचित्र भएको बताएका छन् । चलचित्रको नाम ‘मिस्टर भर्जिन’ भएकै कारण कसैले पनि नाक खुम्च्याउन नपर्ने गौरबले बताए । सधैं फरक जनराको चलचित्र गर्दै आएको आफुले ‘मिस्टर भर्जिन’ मा पनि फरक भूमिका निर्वाह गरेको गौरबको भनाई रहेको छ । यौन मनोबिज्ञानमा आधारित रहेर पहिलो चोटि नेपालमा सेक्स कमेडी बेसको चलचित्र बनेको गौरबले बताए । यस्तै उनले चलचित्रको ट्रेलर हेरेर गाली गर्नेहरुको चलचित्र हेरेपछी भने मन बदलिने समेत बताए ।

चलचित्रकी अभिनेत्री मरिस्का पोख्रेलले ‘मिस्टर भर्जिन’ मा आफुले एउटा कल गर्लको भूमिका निर्वाह गरेको बताईन । चलचित्रमा कल गर्लको भूमिकालाई न्याय दिन आफुले कल गर्लहरुको जीवन र दैनिकी बारे पनि लामो अध्ययन गरेको मरिस्काले बताईन । चलचित्रका लागि प्रस्ताब आउँदा सुरुमा के सोच्नु भएको थियो भन्ने प्रश्नमा मरिस्काले नामलाई नै लिएर आफुलाई केही आपत्ति नभएको बताईन । निर्माण पक्ष सँगको पहिलो छलफलमा नै उहाँहरुले फिल्मको नाम ‘मिस्टर भर्जिन’ न हो, तपाई काम गर्नु हुन्छ कि हुन्न भनेर सोध्नु भयो, पछी थाहा पाए म भन्दा अघी केही कलाकारहरुले नामलाई लिएर फिल्म गर्न अस्विकार गर्नु भएको रहेछ, त्यसैले मलाई सुरुमै फिल्मको नाम सुनाएर मेरो मनसाय बुझ्न खोज्नु भएको रहेछ – मरिस्काले भनिन् ।

खुपिका बा नामले चर्चित कलाकार कमलमणी नेपालले चलचित्रले दिन खोजेको कन्टेन्ट निकै राम्रो भएको कारण आफुले चलचित्र मा काम गरेको बताए । चलचित्रका निर्माता प्रजापती सिवाकोटीले ‘मिस्टर भर्जिन’ एउटा राम्रो चलचित्र बनेकोले हलमा गएर चलचित्र हेर्न सबैलाई आग्रह गरे । यस्तै उनले चलचित्र नहेरी कमेन्ट गर्ने भन्दा पनि हेरेर मात्र कमेन्ट गर्न सबैलाई आग्रह गरेका छन् ।

चलचित्रमा गौरव पहारी, विजय बराल, कमलमणि नेपाल, मरिश्का पोख्रेल, भोलाराज सापकोटा, रविन्द्र झा, सिर्जना सुब्बा लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रलाई खिलेन्द्र तिमल्सिना, मुकेश रेग्मी र प्रजापती सिवाकोटीले निर्माण गरेका हुन् । वल्र्ड वाइड फिल्मस् डिस्ट्रिब्यूसनको ब्यानरमा निर्माण भएको यो चलचित्रलाई विशारद बस्नेतले निर्देशन गरेका हुन् । त्यस्तै चलचित्र युनिटले बुधबार बेलुका नारायणी नदि किनारमा भव्य कन्सर्ट समेत आयोजना गरेको थियो । कन्सर्टमा डान्सरहरुले चलचित्रको गीतमा नूत्य गरेका थिए भने चलचित्रको मुख्य कलाकारहरुले चलचित्रको बारेमा उपस्थिति दर्शकहरुलाई जानकारी दिएका थिए। कन्सर्टमा ठुलै संख्यामा दर्शकको उपस्थिति रहेको थियो।