‘प्रेम गीत ३’ रिलिज नहुँदै नयाँ चलचित्रमा छानिए मनिष


काठमाडौं। क्लोथिङ्ग ब्राण्ड ‘डक्टर डेनिम’ ले नेपाली चलचित्रमा लगानी गर्ने भएको छ । आगामी बर्ष रिलिज हुनेगरी यो ब्राण्डले चलचित्र निर्माण गर्ने बताइएको छ ।

प्रेमकथामा बन्न लागेको उक्त अनटाइटल्ड चलचित्रमा ‘प्रेम गीत ३’का अभिनेता मनिष राउतले मुख्य भूमिका निर्वाह गर्नेछन् । ‘डक्टर डेनिम’को ब्राण्ड एम्बासडर समेत रहेका राउतको जोडी नायिका भने छनौट नभएको ‘डक्टर डेनिम’ का सिइओ निलुस गौतमले बताए । यो चलचित्रमा गौतम निर्माता रहनेछन् । आफ्नो ब्राण्डलाई भने प्रस्तुतकर्ताको रुपमा राखिने उनले बताए ।

चलचित्रका निर्देशक, लेखक सहित अन्य टीमको भने जानकारी गराईएको छैन । सामान्यतया निर्देशक तथा लेखकको बारेमा कलाकारहरु भन्दा पहिले जानकारी दिईने गरिने भएता पनि निलुसले बनाउने चलचित्रमा नायकलाई पहिले परिचित गराईएको छ । केही समयमा नै चलचित्रको शिर्षकसँगै लेखक तथा निर्देशकको परिचय दिने योजना रहेको निर्माता गौतमले बताए ।

मनिष राउतको एउटा पनि चलचित्र रिलिज नभएतापनि दर्शक सामु चर्चित छन् । बिशेष गरी उनको लुक्सबाट प्रभावित दर्शकले उनलाई गत बर्षको अन्तिमदेखी चलचित्र ‘प्रेम गीत ३’मा हेर्न पाउने भएका थिए । तर कोरोना भाईरसको महामारीको कारण रिलिज अनिश्चित भएपछि मनिषलाई हेर्न पाएका छैनन् । उनले ‘प्रेम गीत ३’मा अभिनय गर्ने पक्का भएपछि उनलाई ‘डक्टर डेनिम’ ले ब्राण्ड एम्बेसडर बनाएको थियो ।

‘मनिषको क्रेज देखेरै हामीले लामो समयसम्मको लागि ब्राण्ड एम्बेसडर बनाएका थियौँ । उहाँको क्रेजबाट हामीले हाम्रो ब्राण्ड स्थापित गर्न सफल बन्यौँ । अब हामीले उहाँलाई नै लिएर चलचित्र बनाउन लागेका छौँ’, निर्माता गौतमले भने –‘मनिषको क्रेज मात्र नभएर उहाँको अभिनय क्षमताले पनि हामी प्रभावित छौँ । हामीले ‘प्रेम गीत ३’को टीजर तथा ओस्कार कलेज पढ्ने बेलामा गरेको केही लघु चलचित्रको अभिनय हेरेका थियौँ । उक्त चलचित्रमा उहाँले गरेको अभिनयले भोलीको स्टार बन्ने ढोका खोल्नेमा म ढुक्क छु’ । पुरुषहरुका लागि हरेक प्रकारका कपडाहरुको बिक्री गर्ने ‘डक्टर डेनिम’मा मनिष पाँच बर्षको लागि ब्राण्ड एम्बेसडर छन् ।

स्क्रिप्ट तयार भईसकेको यो चलचित्र नेपाल, जर्मनी र भारतको गोवामा छायांकन हुने बताइएको छ । चलचित्रको लागी मनिषको जोडीको रुपमा रहने नायिकाको लागि अभिनय क्षमता सहितकी नयाँ कलाकारको खोजी भईरहेको छ ।