मण्डला सुनकेसरी मैया संगै उद्घाटन हुने


सेलेब्रिटी नेपाल कार्तिक ६ – भित्तामा टाँसिएको कालो पर्दा उघारेर रंगकर्मी राजन खतिवडा ‘कर्णाली…’ गीत गाउँदै स्टेजमा देखा परेपछि अरू पनि उनको पिछा गरे । एक्कै छिनमा खाली रंगमञ्च कलाकारै कलाकारले भरिभराउ भयो ।हातमा काँसका लामा लट्ठी लिएर उनीहरू एउटै स्वरमा कर्णालीको देउडा भाका गुनगुनाउन थाले । अरूले एउटै स्वरमा ‘सुनकेशरी सुनकेशरी…’ भन्दै बोलाए । दृश्य नाटक रिहर्सलको हो । डेढ दशक पहिले सत्यमोहन जोशीले लेखेको कर्णाली परिवेशमा आधारित लोक कथा ‘सुनकेशरी’ को मञ्चन तयारीमा यतिबेला मण्डला थिएटरका रंगकर्मी लागि परेका छन् । अनामनगरस्थित मण्डला थिएटरमै उनीहरूले बुधबार रिहर्सल गरिरहेका थिए ।

‘सुनकेशरी’ निर्देशन गरिहेका उनले कणालीका रंगकर्मी हीरा बिजुली नेपालीको अनुपस्थितिमा नाटकको न्यारेसन पनि आफैं जोड्दै थिए । नाटक अनुसार सुनकेशरी नाम गरेकी पात्र कर्णाली राज्यकी रूपवती स्त्री हुन्छिन् । उनको रूपको पछाडि राजा, महाराजदेखि पूरै गाउँलेकै आँखा लागेको हुन्छ । ठकुरी समाजको संस्कृतिमा फुपू र मामाका छोराछोरीको जन्मजातै बिहे गर्ने अधिकार जोडिएको हुन्छ भन्ने मान्यता छ । त्यही संस्कृतिमा आधारित नाटकले सौन्दर्यको महत्त्व र पीडाबारे प्रस्ट्याउने प्रयास गरेको छ ।

डेढ वर्षदेखि थिएटर बनाउने सपना बोकेका मण्डलाका अध्यक्ष एवं अभिनेता दयाहाङ राईले चाहिँ २२ लाख रुपैयाँ खर्चेर भवन निर्माण गरेको बताए, जहाँ ‘सुनेकशरी’को तयारी चलिरहेको छ ।

‘राजन र मैले देखेको थिएटर सपना एक वर्षपछि मात्र पूरा भयो,’ उनले भने, ‘अबचाहिँ केही गर्ने थप आशा पलाएको छ ।’ सुरुमा १० लाख रुपैयाँको लगानी गर्ने योजना बनाए पनि काम गर्दै जाँदा सोचेभन्दा धेरै खर्च भएको राजनले अनुभव सुनाए । कम्तीमा २ सय मानिस अटाउन सक्ने थिएटरमा हप्ताको ३ दिन नाटक देखाउने र अरू दिन चाहिँ आर्टसम्बन्धी क्रियाकलाप गर्न चाहनेलाई भाडा प्रदान गर्ने राजनले बताए ।

हाल रिहर्सल भइरहेका नाटक लिएर मण्डलाका १८ कलाकार कात्तिक ३० गते बंगलादेश जाँदै छ । बंगलादेशबाट फर्किएपछि ‘सुनकेशरी’ नाटकबाटै थिएटरको औपचारिक उद्घाटन गर्ने योजना रहेको समेत खुलाए ।