दि कर्मा’लाई सेन्सर बोर्डको यस्तो निर्देशन


सेलिब्रेटी नेपाल

काठमाण्डौ: यही माघ १७ गतेलाई प्रदर्शन मिति घोषणा गरेको एक्सन-लभस्टोरी जनरामा निर्मित चलचित्र ‘दि कर्मा’ ले नेपाल सरकार अन्तर्गत केन्द्रीय चलचित्र जाँच समितिबाट पिजी सर्टिफिकेट पाएको छ । आइतबार सेन्सर बोर्डका पदाधिकारीहरुले चलचित्र हेरेपछि १६ वर्षभन्दा कम उमेरका दर्शकले अभिभावकको साथमा हेर्न मिल्ने गरी पिजी सर्टिफिकेट दिएका हुन् ।

त्यस्तै, सेन्सर बोर्डले चलचित्रको एक एक्सन सिनमा रगत बगेको दृश्यलाई ‘ब्लर’ गर्न पनि निर्देशन दिएको छ । ‘दि कर्मा’ का निर्माता जय राज रायले सेन्सर बोर्डका पदाधिकारीले फिल्म मन पराएको बताए । चलचित्र नेपाल र भारतको सिमा क्षेत्रमा हुने घटनामा आधारित भएर निर्माण भएको बताइएको छ । देव कुमार श्रेष्ठ निर्देशित चलचित्रको ट्रेलर र गीत सार्वजनिक भैसकेको छ ।

जय मिडिया म्यानेजमेन्ट र श्रीत मिडिया एण्ड इन्टरटेन्मेन्टको ब्यानरमा बनेको बनेको चलचित्रको कथा निर्माता जय राज आफैंले लेखेका हुन् । रायसँगै श्रीदेव बि.एल. र निशा खतिवडा निर्माता रहेको यस चलचित्रमा शारदा खड्का अर्याल सह निर्माताको रुपमा छन् । चलचित्रलाई रामेश्वर कार्कीले छायांकन गरेका छन् । ‘दि कर्मा’ को पटकथा तथा संवाद शुशील पोखरेलको हो ।

चलचित्रमा करण वर्मा, नीता ढुंगाना, परमिता आरएल राणा, बुद्दी तामाङ्ग, देव कुमार श्रेष्ठ, अनुप सक्सेना, संगीता नापितलगायतका कलाकारहरुको अभिनय छ । करण भारतिय कलाकार भएका कारण पनि यो चलचित्रलाई धेरैले चासोपूर्वक हेरेका छन् । नेपाल रिलिजसँगै अन्य मुलुकहरुमा पनि यो चलचित्र हुने निर्माण टिमले बताएको छ ।