‘दि कर्मा’ले च्यारिटीमा पायो राम्रो प्रतिक्रिया,दर्शकको साथ के होला ?


सेलिब्रेटी नेपाल

काठमाडौँ: यो शूक्रबार रिलीज हुन लागेको नेपाली चलचित्र ‘दि कर्मा’को च्यारिटी शो आयोजना सम्पन्न भएको छ । मंगलवार राजधानीमा आयोजित शो नेपाल चलचित्र कलाकार संघको सहयोगार्थ गरिएको हो । उक्त प्रदर्शनीबाट संकलित सम्पूर्ण रकम कलाकार संघलाई प्रदान गरिएको निर्माता जय राज रायले बताए ।

कलाकार संघका अध्यक्ष रविन्द्र खड्काले च्यारिटीको लागि हलमा रिलीज नहुँदै चलचित्र प्रदर्शन गरेर सहयोग गरेकोमा कलाकार संघ सदैव आभारी रहने बताए । ‘च्यारिटीलाई चलचित्र निशुल्क दिने निर्माताहरु पनि भेटिने रहेछ, उहाँहरुले त झन् टिकट समेत किन्नुभएको छ । यो सहयोग कलाकार संघले कहिल्यै बिर्सने छैन’, उनले भने ।

उक्त शोमा चलचित्र यूनिट पनि उपस्थित थियो । चलचित्र हेरिसकेपछि नायिका परमिता आर.एल. राणा तथा अभिनेता बुद्दी तामांगले प्रतिक्रिया लिएका थिए । नायिका राणाले आफ्नो कामलाई प्रसंशा गरेकोमा सबैलाई धन्यवाद दिईन् । ‘यो चलचित्र राम्रो पनि बनेको छ त्यसकारण पनि माघ १७ मा हलमा गएर हेर्नुहोला अनि नेपाली चलचित्रलाई माया पनि गर्नुहोला’, प्रसन्न मुद्रामा राणाले भनिन् ।

अभिनेता तामांगले पनि राम्रो प्रतिक्रियाले खुशी लागेको बताए । ठट्यौली शैलीमा उनले भने, ‘चलचित्र हेर्नेहरुले मेरो र चलचित्रको तारिफ गरिदिँदा म मख्ख नपरेर को पर्छ त ? छिमेकी ?’ तामांगले आफुले भन्नु भन्दा पनि दर्शकले कसरी लिनुहुन्छ भन्ने मूख्य कुरा रहेको साथै ‘दि कर्मा’ दर्शकलाई मन पर्छ भन्नेमा बिश्वास रहेको जनाए ।

चलचित्रका निर्देशक देव कुमार श्रेष्ठले कलाकार संघलाई चलचित्र मार्फत सहयोग गर्न पाउनु पनि निकै गर्वको कुरा भएको बताए ।

निर्माता तथा कलाकार जय राज रायले कलाकार संघले आर्थीक सहयोग जुटाउन खोजिरहेको थाहा पाएपछि आफुले चलचित्र च्यारिटीलाई दिने निधो गरेको बताए । उनले थपे, ‘म आँफै पनि निर्माता तथा कलाकार भएकोले पनि सहयोगको कुरा आएपछि हामीले च्यारिटीलाई चलचित्र दिएका हौँ । ‘दि कर्मा’को यो च्यारिटीबाट संकलित सम्पूर्ण रकम हाम्रो टीमले कलाकार संघलाई नै प्रदान गरेको छ’ ।

निर्माता श्रीदेव बि.एल.ले चलचित्र हेरेर दिग्गज कलाकारहरु सबैले राम्रो प्रतिक्रिया दिएको बताए । ‘दर्शकले पनि मन पराउनेमा पूर्ण बिश्वास छ । हाम्रो टीमले राम्रो चलचित्र बनाउने प्रयास गरेका छौँ’, बि.एल.ले बताए ।