सन्नी लियोन नेपालमा,कुमारी हलमा हेरिन ‘पासवर्ड’


सेलिब्रेटी नेपाल

काठमाडौं: नेपाली चलचित्र ‘पासवर्ड’ मा आइटम डान्स गरेकी बलिउड अभिनेत्री सन्नी लियोनी सोही चलचित्रको प्रिमियरमा सहभागी हुन नेपाल आएकी छिन् । बिहीबार अपरान्ह त्रिभुवन विमानस्थल उत्रिएकी उनी राती कमल पोखरीस्थित कुमारी हलमा आयोजित चलचित्र प्रिमियरमा सहभागी बनिन् । सन्नी साढे ६ बजे नै कुमारी हल पुग्ने भनिएपनि राती पौनै ९ बजेमात्रै त्यहाँ पुगेकी थिइन् । हल परिसरमा सन्नी पुग्दा लाखे नाच र पञ्चकन्याले स्वागत गरिएको थियो ।

ठूलो संख्यामा मिडियाकर्मी र फ्यानहरु हल परिसरमा सहभागी हुँदा सन्नीले नेपाली फिल्मको हिस्सा हुन पाउँदा खुसी लागेको प्रतिक्रिया दिइन् । ‘पासवर्ड’ अहिलेसम्मकै बिग बजेटको चलचित्र भएको आफूले ठानेको बताउँदै सन्नीले आगामी दिनमा पनि नेपाली चलचित्र खेल्ने बताईंन । उनले कार्यक्रममा बोल्दै आफु लाइ सबै भन्दा मन पर्ने देश नेपाल रहेको बताईन् । सन्नी विभिन्न कार्यक्रममा यो भन्दा अघि पनि नेपाल आउने गरेकी थिइन्।

कार्यक्रममा निर्माण पक्षले सन्नीको मुख्य भूमिका रहने गरी नयाँ चलचित्र बनाउने घोषणा समेत गर्यो । हल परिसरमा छोटो कुराकानी पछि उनी अन्य आमन्त्रितहरुसँगै चलचित्र हेर्न हल प्रवेश गरेकी थिइन् । शनिबार भारत फर्किने तालिकासहित नेपाल आएकी सन्नीले शुक्रबार नेपालका केही ठाउँका भ्रमण समेत गर्ने बताइएको छ ।

‘पासवर्ड’मा सन्नीको आइटमसहित अनुपविक्रम शाही, विक्रम जोशी, बुद्दि तामाङ, रविन्द्र झा, प्रविण खतिवडा, धिरेन शाक्य, लिजा सुनार, परि राना, छुल्ठिम गुरुङ, एभरेस्ट सुर्य बोहरालगायतका कलाकारको अभिनय छ । अंंकित गौतम कार्यकारी निर्माण रहेको फिल्ममा निर्माताको रुपमा अमित बस्नेत र हिरालाल जोशी छन् । लचित्र शुक्रबारदेखि देशभर प्रदर्शनमा आएको छ ।