सिन्धुबासीका साथमा कलाकार, सिन्धु सहयोग कोष स्थापना



काठमाडौँ। गत असार १ गते आएको बाढी–पहिरोबाट सिन्धुपाल्चोक जिल्लाका मेलम्ची, हेलम्बु, पाँचपोखरी तथा ईन्द्रावतीमा भएको प्राकृतिक प्रकोपबाट पीडित भएकाहरुको सहयोगका लागि नेपाली कलाकारहरुले सिन्धु सहयोग कोष स्थापना गरेका छन् । बिहिबार काठमाडौंमा आयोजित एक समारोहमा उक्त कोष स्थापना भएको औपचारिक घोषणा गरिएको छ ।

उक्त कोषका संयोजकमा अभिनेता कृष्ण मल्ल रहेका छन् अभिनेत्री करिश्मा मानन्धर सह संयोजक रहेकी छिन् । कोषको सदस्य सचिवमा कृष्ण ढुंगाना, कोषाध्यक्षमा जीतु नेपाल, सहकोषाध्यक्षमा चेतन सापकोटा तथा सदस्यहरुमा अभिनेती श्वेता खड्का, गायिका सुनिता दुलाल, अभिनेत्री पूजा शर्मा तथा अभिनेता भुवन केसी रहेका छन् ।

महाभूकम्पमा होस् या विभिन्न विपद्का बेला कलाकारहरु एकजुट भएको पाइन्छ । यतिबेला सिन्धुपाल्चोकको मेलम्ची र इन्द्रावती नदीमा आएको बाढीका कारण बस्ती उजाडिएका छन् । मानिसहरु घरबार बिहिन भएका छन् । गाँस, बास, कपास सबै बाढीले खोसेको छ ।

घोषणा भएको रकम बैंकमा जम्मा भएपछि बाढीपीडितको तत्काल अस्थायी आवास निर्माण गर्न सहयोग गरिने कलाकारद्धारा सञ्चालित सिन्धु सहयोग कोषकी सह संयोजक तथा अभिनेत्री करिश्मा मानन्धरले बताइन् ।

कलाकार तथा यससँग सम्बन्धित संघसंस्थाबाट प्रतिबद्धता जनाएअनुसार एकैदिन करिव ३२ लाख रुपैयाँ सहयोगको घोषणा भएको कलाकारद्धारा सञ्चालित सिन्धु सहयोग कोषका संयोजक तथा अभिनेता कृष्ण मल्लले जनाए ।

कोषले बैंक खाता खोलेपछि सहयोग घोषणा गर्नुहुने र गर्न चाहनेले खातामा रकम जम्मा गर्न सक्ने मल्ल बताउँछन् । कार्यक्रममा उपस्थित भएका चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल, निर्माता अशोक शर्मा, चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले केहीदिन भित्रै सहयोग घोषणा गर्ने प्रतिवद्धता जनाएका छन् ।

हास्यकलाकार जितु नेपालले जुनसुकै विपत्तिका बेला कलाकारहरु जुट्ने गरेको बताए । ‘अहिले सिन्धुपाल्चोक दुःखमा पर्यो भनेर मात्र होइन,’ उनले भने, ‘जहाँ संकट पर्दा पनि हामीले सहयोग गरेका छौं, गर्नुपनि पर्छ ।’

कसले कति गरे सहयोग ?

शोभित उप्रेती – २ लाख ५१ हजार र घर बनाउनका लागि ११ लाख

हास्यकलाकार किरण केसी – २ लाख ५३ हजार

नेपाल फिल्म सोसाइटीको तर्फबाट अभिनेता कृष्ण मल्ल– १ लाख १ हजार

अभिनेत्री तथा निर्देशक दीपाश्री निरौला– १ लाख १ हजार

निर्देशक समाजको तर्फबाट महासचिव जनकदिप पराजुली – १ लाख १ हजार

अभिनेत्री करिश्मा मानन्धर – १ लाख

अभिनेता भुवन केसी – १ लाख

सुभास खड्का – १ लाख

कलाकार इन्द्र दोङ ‘खम्बे’ – ७५ हजार

गायिका सुनिता दुलाल – ५१ हजार ५ सय ५५

हास्यकलाकार जीतु नेपाल – ५१ हजार

चलचित्र कलाकार संघ – ५१ हजार

गायक तथा संगीतकार चेतन सापकोटा – ५१ हजार

कलाकार मदनदास श्रेष्ठ – ५१ हजार र घर निर्माणका लागि ५ लाख रुपैयाँ

मधु कुमार श्रेष्ठ – ५१ हजार

अधिवक्ता कृष्ण ढुंगाना – ५० हजार ५ सय ५५

हास्यकलाकार शिवहरी नेपाल ‘वैरागी’ – २५ हजार ५ सय २५

वितरक तथा निर्माता गोपालकाजी कायस्थ – २५ हजार

कलाकार सुरेन्द्र केसी – २५ हजार

चलचित्र द्धन्द्ध कलाकार संघका नारायण प्रधान – २५ हजार

नेपाल चलचित्र नृत्य संघ – २५ हजार

बालकलाकार अपेक्षा शेरचनको आमा अनु उर्मिला शेरचन – १० हजार