सुटिंगमा प्रहरीको हस्तक्षेप !



सेलिब्रेटी नेपाल,काठमाडौँ। साउन २९ गते बेलुकी एउटा पार्टी प्यालेसमा सेट लगाएर छायांकनको तयारी गरिरहेकी नायिका नीता ढुंगाना र उनको टिमको काम प्रहरीले रोक्यो । सरकारले लकडाउन समाप्त भएको घोषणा गरेको केही दिनमै कोरोना संक्रमित बढेपछि देशभर लकडाउन सुरु भएको छ । सरकारले म्यूजिक भिडियो वा चलचित्रको छायांकनका लागि अनुमति दिइसकेको छैन । तर, पनि डेढ महिनादेखि म्यूजिक भिडियोको छायांकन भने धमाधम भैरहेको थियो ।

तर, अब भने म्यूजिक भिडियोको छायांकनमा पुगेर प्रहरीले काम रोक्न आग्रह गर्न थालेको छ । साउन २९ गते नीताको स्वरमा समावेश भजनको छायांकन प्रहरीले रोकेको हो । सो गीतको भिडियोको छायांकन साउन ३० गते दिउँसो गरिएको थियो । राती गर्नुपर्ने छायांकन प्रहरीले रोकेपछि दिउँसो गरिएको थियो ।

यस्तै, शंखमुलमा टेलिसिरियल ‘झोल झाल’को छायांकन भैरहेको समयमा प्रहरी पुगेको थियो । प्रहरीले क्यामेरा भ्यानमा हालेपछि यसका निर्देशक दिनेश पाख्रिन पनि सोही भ्यानमा चढेका थिए । प्रहरीले भिडभाड गरेर छायांकन गरेको भन्दै अनुमति नलिई काम नगर्न पाख्रिनलाई भनेको थियो । करिब २० जनाको टिमसहित सिरियलको छायांकन गरेपछि प्रहरीले हस्तक्षेप गरेको हो ।

जिल्ला प्रशासन कार्यलयले निषेधाज्ञा जारी गरेसँगै प्रहरीले म्यूजिक भिडियो र सिरियलको छायांकनमा कडाई गर्न थालेको छ । सरकारले निषेधाज्ञा जारी गरेसँगै थुप्रै टिमले भिडियो छायांकनको काम रोकेका छन् ।