‘सत्यम’ मल्लिका बाहिरीन् उपासना भित्रीन्



काठमाडौं। अभिनेत्री तथा मोडल मलिका महत चलचित्र ‘सत्यम’बाट बाहिरिएकी छन् । उनको स्थानमा नायिका उपासना सिंह ठकुरीले अभिनय गर्ने भएकी छन् । उनि राईजिंग सुपरस्टार पल शाहको जोडीको रुपमा देखिनेछिन् । यसमा महानायक राजेश हमालको मुख्य भूमिका रहनेछ ।

पढाई र सुटिंगको समयतालिका नमिल्ने भएपछि महतले चलचित्र छाडेकी हुन् । निर्माता रेशम सापकोटाले मलिकाले चलचित्र छाड्नुको कारण उनको अध्ययन नै रहेको बताए । ‘मलिकाले बिबिए अध्ययन गर्दै हुनुहुन्छ । चलचित्रको कार्यशाला गर्ने समयसम्म पढाई अनलाइनमा हुने भन्ने थियो तर सोचेभन्दा अगाडी नै कलेजको फिजिकल क्लास हुने भएपछि उहाँले समय दिन सक्नुभएन । अन्य कारण केहि छैन’, सापकोटाले प्रष्ट पारे ।

निर्देशक शंकर कार्कीका अनुसार ‘सत्यम’का लागि पहिले उपासनालाई नै अफर गरिएको तर अर्को चलचित्रको छायांकन मिति जुधेपछि उनले समय दिन सकेकी थिईनन् । निर्देशक कार्कीले भने, ‘पहिले उपासनाले चाहेर पनि समय दिन सक्नुभएको थिएन तर अहिले भने उहाँको समय मिलेको छ । हामीले सहमती गरेर अगाडी बढिसकेका छौं । अब मलिकाले अभिनय गर्ने भुमिका उपासनाले गर्नुहुन्छ’ ।

चलचित्रमा राजेश हमाल,अनुप विक्रम शाही र अभय बरालको पनि मुख्य भूमिका रहनेछ भने कृष्ण जोशीको पनि अभिनय रहनेछ । पर्दामा दर्शकले राजेश हमाल र अनुपको घमासान भिडन्त हेर्न पाउनेछन् । यसअघि उनीहरुले चलचित्र ‘सौर्य’ मा एकसाथ अभिनय गरेका थिए । चलचित्रमा हमालको चार फरक लुक्स रहनेछ । यो चलचित्रबाट महानायक राजेश हमालले चार वर्षपछि कमब्याक गर्न लागेका हुन् । यसकारण पनि ‘सत्यम्’ निर्माण अगावैदेखि दर्शकमाझ प्रतिक्षीत बनेको छ । चलचित्रमा दक्षिण भारतिय चलचित्रहरुमा उदाईरहेका कलाकार मिलन सिजापतिको पनि नेगेटिभ भुमिका रहनेछ । यो चलचित्रबाट मोक्तर खान, कैलाश रावल, नेरिस्का स्थापित, प्रिन्स प्रसिद्द सिंह, प्रविन चापागाईं, अन्विशा खड्की लगायतका अन्य कलाकारहरुले डेब्यू गर्दैछन् । यि सबै कलाकारहरु अडिशनबाट छानिएका हुन् ।

नवयुग सिनेमाको प्रस्तुतीमा बन्ने‘सत्यम्’ लाई रेशम सापकोटाले लेखेका हुन् भने सापकोटा नै चलचित्रका निर्माता हुन् । गणेश पौडेल एशोसियट निर्माता रहेको चलचित्रका सह-निर्माताहरुमा श्याम मल्ल र कृष्ण जोशी रहेका छन् । त्यस्तै, लाईन प्रोड्युसरमा रेशम गौतम, सुबास भुर्तेल र कृष्ण अधिकारी छन् । चलचित्रमा योगेश काजीको संगीत, कुटुम्ब ब्याण्डको शिर्ष गीत र ब्याकराउण्ड म्युजिक, गणेश पौडेलको सह-संगीत, रेशम सापकोटा र बिष्णु निरिशको शब्द रचना, अन्जु पन्त, योगेश काजी, समिक्षा अधिकारी, गणेश पौडेल र राजु महर्जनको गीतमा स्वर सुन्न सकिनेछ । त्यस्तै, चलचित्रको डिओपीमा राजेश श्रेष्ठ छन् भने टेक्निकल सुपरभाईजर जीवन थापा हुन् ।

चलचित्रको प्रडक्शन हेड मनोज जोशी, प्रडक्शन डिजाईनर आशिका शर्मा, प्रडक्शन म्यानेजर राज कुमार कार्की, एशोसियट निर्देशक सुबास सुबेदी रहनेछन् भने रामजी लामिछाने कोरियोग्राफी गर्नेछन् । कस्टयूम डिजाईन जानकी कडायतको रहेको छ भने अष्ट मान महर्जनको द्वन्द्व निर्देशन रहनेछ । मुख्य सहायक निर्देशकमा शंकर धिताल र राम कुमार श्रेष्ठ छन् । चलचित्रको एक्सन सिन खिच्न निर्माण टिमले पोखरामा भव्य सेट निर्माण गरेको छ ।

यो चलचित्र माथिल्लो मनाङ, मुस्ताङ, पोखरा र काठमाडौंमा छायांकन हुने चलचित्रको इनडोरका महत्त्वपूर्ण सिनहरु छायांकन भने सेटमा खिचिनेछ । निर्देशक शंकर कार्कीका अनुसार, निर्माणधिन भव्य सेटमा हेलिकोप्टर क्रयासको दृश्यदेखि ठूला भवनहरुको दृश्यहरु छायांकन गरिनेछ ।