‘आफ्नो ज्यान नै असुरक्षित भएको महसुस गर्न थालेकी छु’: सरिता लामिछाने


सेलिब्रेटी नेपाल

काठमाडौँ: चलचित्र कलाकार संघको जेठ २५ गते हुने १७ औं साधारणसभाका लागि अध्यक्षको प्रत्याशी सरिता लामिछानेले आफ्नोे एजेण्डा सार्वजनिक गरेकी छन् । लामिछानेले आफ्नो प्राथमिकतामा नेपाल चलचित्र कलाकार संघलाई सम्पूर्ण कलाकारको छाता संगठन वनाउने प्रयास गर्ने, संघको परिचयपत्रलाई राष्ट्रिय मान्यता दिलाउने, कलाकार कल्याण कोषको वृद्धिगरी यसको कामलाई बृहत बनाउने, कलाकारहरुको क्षमता अभिवृद्धिका निम्ति कार्य गर्ने, कलाकार संघको आफ्नै भवन निर्माण गर्ने लगायतका कुराहरु रहेको बताइन् ।

मैले काम गर्ने वातावरण पाएको खण्डमा चलचित्र संघको आफ्नै भवन हुनेछ ।’ कलाकार संघको भवन बन्नैपर्ने उनले बताइन् । कलाकार प्रति संघ उत्तरदायी हुनुपर्ने । संघमा हिजोको पुस्ता पनि हुनुपर्छ र आजको पुस्ता अनि भोलीको पुस्ता पनि हुनुपर्नेमा उनको जोड रहेको छ । उनले आफुलाई गैह्र कलाकारको आरोप लगाइएको बिषयमा मन दुखेको बताइन् । ‘नेपाल चलचित्र कलाकार संघको अध्यक्ष पदमा उम्मेदवारी दिने निर्णय लिएपछि मैले धेरै किसिमका धाकधम्की र वेइजती सहिरहनु परेको छ । अझ विभिन्न घटनाक्रमहरुले आफ्नो ज्यान नै असुरक्षित भएको महसुस गर्न थालेकी छु ।’ उनले आफूलाई गैह्र कलाकार भन्नेहरुलाई नै प्रश्न सोध्दै भनिन–‘तीन बर्ष महासचिव म के हैसियतले भएँ ? देश वा विदेशमा जाँदा मलाई तमाम नेपालीहरुले सरिता लामिछाने भनेर के आधारमा चिन्नुहुन्छ ? म ती मुद्धावालाहरुलाई सोध्न चाहन्छु ।’

आफुलाई लागेको आरोप र भावी योजना वारे जानकारी गराउन उनले मंगवार राजधानीमा एक कार्यक्रमको आयोजना गरिन् । उनले आयोजना गरेको कार्यक्रममा गौरी मल्ल, करिश्मा मानन्धर, रेखा थापालगायत उपथित थिए । सरिता लामिछानेको प्रतिद्वन्दीको रुपमा रबिन्द्र खड्का रहेका छन् ।