प्रदीपकुमार उदय भन्छन् : सिनेमा क्षेत्र खुलाउन सरकारलाई दबाब नै दिनुपर्छ !


काठमाडौं । चलचित्र संघका निवर्तमान अध्यक्ष, हल व्यवसायी एवं निर्माता प्रदीपकुमार उदय सम्पूर्ण व्यवसाय खुलिसकेको अवस्थामा सिनेमा हललाई बन्द गर्नु आफूहरुमाथि अन्याय भएको बताउँछन् । ‘५० प्रतिशत यात्रु राखेर सार्वजनिक सवारी चलाउन दिईएको छ । हामी पनि ५० प्रतिशत दर्शक राखेर सुरक्षा सतर्कताका साथ सिनेमा हल चलाउन सक्छौं’ –उनी भन्छन् ।

सरकारले बिहीबारदेखि लामो दुरीका सवारीसाधनसंगै होटल तथा रेष्टुरेण्ट, आन्तरिक हवाई उडान खुल्ला गरेको छ । तर, ६ महिनादेखि ठप्प सिनेमा हल कहिलेदेखि खुल्छन् ? सिनेमाका गतिविधि कहिलेदेखि शुरु हुन्छन ? कुनै निर्णय गरेको छैन । अधिकांश क्षेत्र खुला भईसक्दा सिनेमा क्षेत्र नखुल्नुमा सम्बन्धित संघसंस्था मौन रहनु, सरकारलाई दबाब दिन नसक्नु रहेको बताउँछन् उदय । उनी सरकारले दबाबको भाषा मात्र बुझ्ने बताउँदै अगाडि भन्छन्, –‘यातायात व्यवसायीले दबाब दिए त्यो खुल्यो, उद्योगी व्यवसायीले दबाब दिए ति खुला भए, होटल रेष्टुरेण्टले दबाब दिए, ति खुले । हामीले दबाब दिएनौं हाम्रो क्षेत्र खुलेन् ।’

सम्बन्धित समाचार :

उनले सिनेमासंग सम्बन्धित सरोकारवाला संघसंस्थाहरु आफूहरुको व्यवसायप्रति गम्भीर नदेखिएको गुनासो गर्छन् । सिनेमासँग सम्बन्धित संघसंस्थाले वार्ता नभनेर सरकारलाई दबाब दिनैपर्ने बताउँछन् ।  भन्छन् –‘सरकारले जस्तो भाषा बुझ्छ त्यो प्रयोग गर्नुपर्छ । हाम्रो सरकारले दबाबको भाषामात्र बुझ्छ । त्यसैले अहिले पनि दबाब दिइएन भने सिनेमा हल तत्काल खुल्दैन् ।’

सिनेमा क्षेत्र आज निर्णय गरेर भोलि खुल्ने क्षेत्र होइन् । त्यसैले सिनेमा क्षेत्रबारे तत्काल निर्णय हुर्नुपर्ने उदय बताउँछन् । सरकारले निर्णय दिए २ हप्ताको समय राखेर आफूहरुले सिनेमा हल खोल्न सक्ने उदयको भनाई छ ।