‘पोई पर्यो काले’ मा पूजा बनिन बेहुली


सेलिब्रेटी नेपा

काठमाडौँ:अभिनेत्री पूजा शर्मा र अभिनेता आकाश श्रेष्ठले तेस्रो पटक सहकार्य गरेको फिल्म ‘पोइ पर्‍यो काले’ को छायांकन पूरा भएको छ । एक गीत खिच्न बाँकी राख्दै शुक्रबारबाट फिल्म प्याकअप भएको निर्देशक शिशिर राणाले जानकारी दिए । आउँदो कात्तिक ८ गते दिपावलीमा फिल्म रिलिज हुँदैछ । ‘रियल जोडी’ सौगात मल्ल र सृष्टि श्रेष्ठको पनि यसमा अभिनय छ । चलचित्रमा सौगात मल्ल,पूजा शर्मा, आकाश श्रेष्ठ, सृष्टि श्रेष्ठ, सुरक्षा पन्त, सोहित मानन्धर राजाराम पौडेल लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।

छायांकन सकिएसँगै निर्माण टिमले चलचित्रप्रति दर्शकको कौतुहलता बढाउने केही तश्विर बाहिर ल्याएको छ । सार्वजनिक तश्विरमा पूजालाई बेहुलीको पहिरनमा देख्न सकिन्छ । भने, आकाश र सौगात बेहुलाको भेषमा देखिएका छन् । एक तश्विरमा आकाश र पूजालाई दुलहा-दुलहीको पहिरनमा रोमान्टिक मुडमा देख्न सकिन्छ । सौगात भने एक्लै देखिएका छन् ।

चलचित्रमा शिशिर राणाको लेखन तथा निर्देशन रहेको छ । रेड बर्ड प्रोडक्सनको व्यानरमा निर्माण भयको चलचित्र ‘पोइ र्पयो काले’को प्रस्तुतकर्ता श्यामबहादुर थापा हुन् । दिपक मनाङ्गे र अ देवी राइको लगानी रहेको चलचित्रमा किरण नेपाली र रघु परियार कार्यकारी निर्माताको रुपमा रहेका छन् ।

कमेडी कथावस्तुमा निर्माण हुन लागेको चलचित्रमा विन्दा खतिवडा, जयनन्द लामा लगायतका कलाकारको पनि अभिनय रहेको छ । शिव ढकालको छायांकन रहेको चलचित्रमा सुवाष भुषाल र पुरुषोत्तम न्यौपानेको संगीत, कविराज गहतराज, रामजी लामिछाने र रविन शाहको कोरियोग्राफी रह्यको छ । ‘पोई पर्यो काले’ कात्तिकको ८ गतेबाट तिहारको अवसर पारेर सार्बजनिक प्रदर्शनमा आउनेछ ।