पन्त फिल्मसको ‘हिजो आजका कुरा’ छायाँकन सुरु


सेलिब्रेटी नेपाल

काठमाडौँ: चलचित्र ‘हिजो आजका कुरा’को छायाँकन सुरु भएको छ । पशुपतिस्थित भुवनेश्वरी मन्दिरमा शुभ मुर्हुत गर्दै बुधबारदेखि चलचित्रको छायाँकन सुरु गरिएको हो। टेलिभिजनमा सफल शृंखलाको नाम ‘हिजो आजका कुरा’ बाट साकार पन्तले निर्देशनमा डेब्यु गर्दैछन् ।

चलचित्रमा सन्तोष पन्त र रमा थपलियाको प्रमुख भूमिका रहनेछ। मुर्हुतमा यी दुई अनुभवी कलाकारले पहिलो सट दिए। राजधानी र चितवनमा झन्डै ३५ दिन छायाँकन हुने चलचित्रमा ऋचा शर्मा, केकी अधिकारी, रिमा विश्वकर्मा, नितेशराज पन्त, जेविका कार्की, रमेश अधिकारी र सविन शाक्यलगायतका कलाकारको पनि अभिनय रहनेछ। विनायक कुइकेल र अनुष्का अधिकारीले यस चलचित्र मार्फत डेब्यु गर्दैछन ।

छायाँकन सुरु गरेसँगै निर्माण पक्षले चलचित्रको प्रदर्शन मिति पनि तय गरेको छ । २०७७ सालको बैशाख १२ गते प्रदर्शन गर्ने निर्माण टिमको योजना रहेको छ । पन्त फिल्मस प्रोडक्सनको व्यानरमा निर्माण हुन लागेको चलचित्रमा निर्देशक साकार र कलाकार पन्तको कथा, सन्दीप किस्नाको पटकथा, रवि सायमीको छायाँकन र हर्कुलस बस्नेतको संगीत रहनेछ । चलचित्रको सह निर्मातामा अशोक घिमिरे रहेका छन् ।