ओबामा र नेटफिल्क्सले खोजे ‘तेन्जिङ नोर्गे’ मा अभिनय गर्ने मुख्य पात्र



काठमाडौं । अमेरिकी पूर्वराष्ट्रपति बराक ओबामाले नेटफिल्क्ससँग मिलेर बनाउने बायोपिक चलचित्र ‘तेन्जिङ नोर्गे’को मुख्य पात्रको लागि कलाकारको खोजी सुरु भएको छ । अष्ट्रेलियाको कास्टिङ कल कम्पनी डेनीलङले कलाकारको आह्वान गरेको हो । कम्पनीद्वारा जारी वक्तव्यमा अभिनयको अनुभव नभएकालाई पनि कास्टिङको मौका दिइने उल्लेख छ ।

शारीरिकरुपमा स्फूर्त र खेलाडी शैलीको शारीरिक ढाँचा हुनुपर्ने जनाइएको छ । कास्टिङमा छनौट भए सन् २०२२ मा नेपाल र न्यूजिल्यान्डमा छायांकन हुने फिल्मको मुख्य पात्रमा अभिनय गर्ने मौका उपलब्ध हुने समेत कम्पनीले जनाएको छ । तेन्जिङ पात्रको लागि हिमाली लुक्सको हुनुपर्ने, तिब्बती-शेर्पा र नेपाली हुनुपर्ने तथा उमेर २५ देखि ४० वर्षसम्मको हुनुपर्ने मापदण्ड तय गरिएका छन्।
यहाँ क्लिक गरेर अप्लाइ गर्न सकिन्छ

सगरमाथामाथि बनेको चर्चित डकुमेन्ट्री ‘शेर्पा’ निर्देशक जेनिफर पीडमले निर्देशन गर्ने चलचित्रलाई लायन फेम्ड लेखक ल्युक डेभिसले लेखेका हुन्। सन् १९५३ मा एडमण्ड हिलारीसँग तेन्जिङ नोर्गेले सर्वोच्च शिखर आरोहण गरेका थिए । शेर्पाको जीवनीमाथि एड् डगलसले लेखेको जीवनीमाथि आधारित रहेर चलचित्र ‘तेन्जिङ’ बन्न लागेको हो ।