नम्रताको एक्सन लुक्स ‘जाइरा’ ट्रेलर सार्वजनिक (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ: भाद्र ६ गते प्रदर्शन हुने आशुतोष राज श्रेष्ठ निर्देशित चलचित्र ‘जाइरा’ को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ । बुधबार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ट्रेलरले चलचित्र बदलाको कथामा केन्द्रित रहेको प्रस्ट्याउँछ ।

यो चलचित्रमा अभिनेत्री नम्रता श्रेष्ठ मिक्स मार्शल आर्ट खेलाडीको भूमिकामा छिन् । ट्रेलरमा देखिएको उनको लुक्सले दर्शकमा फिल्मप्रति कौतुहलता बढाउने निश्चित छ । चलचित्रका लागि उनले आफ्नो कपाल तिलाञ्जली दिएकी थिइन् । चलचित्रको ट्रेलरमा भर्सटायल अभिनेता प्रमोद अग्रहरीको लुक्स र गेटअपले पनि ध्यान खिच्न सफल छ ।

‘जाइरा’मा नम्रता र प्रमोदसँगै अनुप बिक्रम शाही, रेमन दास श्रेष्ठ, नव–कलाकारहरु श्रृजना रेग्मी, सुजिता श्रेष्ठ र सम्राट मगरले शिर्ष भूमिकामा अभिनय गरेका छन् । निर्देशक श्रेष्ठ र निरोज महर्जनले पटकथा तयार पारेका हुन् । प्रशन्न गोपाली कार्यकारी निर्माता रहेको फिल्मलाई बाबु श्रेष्ठले खिचेका हुन् भने लोकेश बज्राचार्यको सम्पादन छ ।

अभिनेत्री श्रेष्ठको होम प्रोक्डक्सन नम्रता श्रेष्ठ प्रोडक्सन र ट्रेन्ड सेटर्सको ब्यानर तथा कटामरी फिल्मसको सहकार्यमा निर्माण भएको फिल्ममा सम्राट बस्नेको द्वन्द्व निर्देशन छ । ‘जाइरा’मा एक्सन अवतारमा प्रस्तुत भएकी अभिनेत्री नम्रताले आफूले कहिल्यै एक्सन चलचित्र गर्नेबारे नसोचेको बताउँछिन् । निर्देशक श्रेष्ठले कन्भिन्स गराएपछि आफू यो चलचित्र गर्न तयार भएको उनको भनाई छ ।