मिरुनाको पछि आर्यन,‘च च हुई’ पोस्टर सार्बजनिक


सेलिब्रेटी नेपाल

काठमाडौँ: आर्यन सिग्देल स्टारर चलचित्र ‘च च हुई’ को पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक पोस्टरमा आर्यनलाई फ्रेस देख्न सकिन्छ । उनको साथमा मिरुना मगर र भोलाराज सापकोटा फिचर्ड छन् । सार्वजनिक पोस्टरमा आर्यनले मिरुनालाई पाउन खोजेका छन् भने उनलाई भोलाले सम्हाली रहेकाछन् । पोस्टरमा फोटोग्राफी श्रीधर पौडेलको रहेको छ भने यसलाई टौवा क्रिएसनका विजय बश्याल र शान थापाले डिजाइन गरेका हुन् । मङ्सिर ६ मा रिलिज हुने चलचित्र रम-कम अर्थात रोमान्टिक कमेडी जनरमा तयार भएको हो भने यसलाई एजीएल इन्टरटेनमेन्टको ब्यानरमा अमृत घोले लामाले निर्माण गरेका हुन् । व्यवसायी घोले यसै चलचित्र मार्फत निर्माणमा आउंदैछन् ।

लभर ब्वाईको भूमिकामा सर्वाधिक रुचाइएका चकलेटी हिरो आर्यन र ‘लालपूर्जा’ बाट नेपाली चलचित्रमा डेब्यू गरेकी मिरुनाले अनस्क्रिन रोमान्स गरेका छन् । यसमा आर्यन र मिरुनासँगै भोलाराज सापकोटा, माओत्से गुरुङ, पुस्कर गुरुङ, बबिता मल्ललगायतको पनि अभिनय छ । फिल्मलाई साम्तेन भुटियाले निर्देशन तथा सम्पादन गरेका हुन् भने यसमा सुशन प्रजापतिको छायाँकन रहेको छ । ‘च च हुई’ को पटकथा सिजन दाहाल र सन्देश अर्यालले लेखेका हुन् । चलचित्रका गीतमा राजनराज शिवाकोटी , सुरज शाही ठकुरी र रोशन थापाको संगीत छ ।