काठमाडौँमा खुल्यो अर्को मल्टीप्लेक्स हल


सेलिब्रेटी नेपाल

काठमाडौँ: बानेश्वरको आइप्लेक्स मलमा बिहिबारबाट ‘वान सिनेमाज’ मल्टीप्लेक्स हल सञ्चालनमा आएको छ । पर्यटनमन्त्री योगेश भट्टराईले उक्त हलको उद्घाटन गरेका हुन् । फोके प्रविधि अपनाइएको ‘वान सिनेमाज’ हलमा ४ सय १० दर्शक क्षमताका दुई अडिटोरियम छन् । यो हलमा शुक्रबारबाट ‘कबड्डी कबड्डी कबड्डी’ प्रदर्शन हुनेछ । बिहीबार हलको अवलोकन गर्न चलचित्रकर्मी तथा पत्रकारहरुको बाक्लो उपस्थिती रहेको थियो ।

रेखा थापा, दीपाश्री निरौला, श्वेता खड्का, जसिता गुरुङ, धिरज मगरलगायतका कलाकारहरुले हल अवलोकन गरेका थिए । दशक अगाडि आइप्लेक्स मल निर्माण भएको स्थानमा शिवदर्शन हल थियो । जसलाई भत्काएर यो मल निर्माण गरिएको हो । बिहीबार चलचित्रकर्मी र पत्रकारलाई हलमा थ्रीडी र टुडीको भिजुअल डेमो पनि देखाइएको थियो । हलमा सुतेर सिनेमा हेर्न चाहने दर्शकका लागि त्यही अनुरुपको सिट पनि राखिएको छ । हलका सञ्चालक तथा सिनेमा निर्माता प्रभु समशेरका छोरा प्रज्वल समशेर राणाले दर्शकलाई फरक रुपमा सिनेमा हेर्ने अनुभव लिनका लागि यस प्रकारको सिटको राखिएको बताए । निर्माता प्रज्वल राणाले आइप्लेक्सले निकट भविष्यमा सिनेमा वितरण र ‘वान सिनेमाज’ को फ्रेन्चाइज विस्तार गर्ने पनि जानकारी दिए ।